बागमती

बागमतीका साढे बाह्र लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप

सरिता दाहाल |
चैत २४, २०७८ बिहीबार १७:२ बजे

मकवानपुर- भोलि २५ चैतबाट सुरु हुने टाइफाइड खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ लाख  ५२ हजार ५ सय ३९ जना बालबालिकाहरुले सेवा लिने भएका छन् ।

उक्त संख्याको बालबालिकाहरुलाई खोप लगाउनको लागि प्रदेशभर ६ हजार ५ सय २० खोप केन्द्र रहने छ । यसैगरी ८ हजार ८ सय ५८ खोपकर्मी र १ हजार ७ सय जना महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन हुने छन् ।


नेपाल सरकारले २५ चैतबाट सुरु गर्न लागेको अभियान अन्तरगत प्रदेशको स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन मार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
अभियानको लागि आवश्यक सबै तयारीहरु पुरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई यो खोप लगाइँदै छ ।

तोकिएको उमेर समूहका बालबालिकालाई तोकिएको अभियानमा खोप लगाउन छुटेमा यो पछि लगाउन पाइने छैन । त्यसैले सबैलाई अभियानमा सहभागी हुन अनुरोध गरिएको छ ।

यो खोप अन्तराष्ट्रिय मापदण्ड अनुसारको भएकोले कुनै पनि आशंका नगरी खोप लिन स्वास्थ्य निर्देशक श्रेष्ठले आग्रह गरे । मासुमा लगाइने यो खोप शून्य दशमलव ५ एम.एल लगाइनेछ ।

टाइफाइड रोग पानी र खानाको कारण हुने रोग हो । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार जना टाइफाइडको कारण संक्रमित हुने गरेका छन् । संसारमा प्रतिवर्ष यो रोगको कारण १ लाख ६१ हजारको ज्यान जाने गरेको निर्देशनालयका चिकित्सा तथा रोग नियन्त्रण महाशाखाका प्रमुख नरेन्द्र झाले बताए ।

उनका अनुसार उमेर समूहको हिसाबमा यो अन्यको तुलनामा बालबालिकालाई १० गुण बढी संक्रमण हुने गर्दछ ।

टाइफाइड पित्तथैलीको क्यान्सरको कारण समेत बन्न सक्दछ, र यो उपचारमा खर्चिलो हुने गरेको छ। यो अभियानका प्रयोग गरिने खोप ९७ प्रतिशत प्रभावकारी र अन्तराष्ट्रिय मापदण्ड अनुसार रहेको उनले बताए ।

ज्वरो साल्मोनेला टाइफी र पाराटाईफी ‘ए’, ‘बी’ तथा ‘सी’ प्रजातिका ब्याक्टेरियाको संक्रमणका कारणले टाइफाइड रोग व्यक्तिमा सर्ने गर्छ । टाइफाइड सबै व्यक्तिमा संक्रमण हुने रोग होे । गर्मी महिना लागेपछि टाइफाइडको संक्रमण बढी हुने गर्दछ । दुषित खाना तथा दुषित पानीको सेवनले यो रोगको संक्रमण हुने गरेको छ । टाइफाइड संक्रमणका मुख्य लक्षण उच्च मात्रामा ज्वरो आउनु, खान मन नलाग्नु, पेट दुख्नु, वान्ता आउन सक्ने झाले बताए ।

देशैभर सञ्चालन हुने यो अभियानको थालनी बागमती प्रदेशमा भोलि संघीय सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडाले मकवानपुरको मनहरी गाउँपालिका–५ स्थित भोजसिद्ध माविको खोप केन्द्रबाट खोप अभियान सुरु गर्ने कार्यक्रम रहेको छ।
 


Author

थप समाचार
x