बागमती

जनता माविमा बालिकामाथि यौन दुर्व्यवहार प्रकरण :

पीडित बालिकाहरूले दिए मध्यरातमा किटानी जाहेरी

सरिता दाहाल |
चैत २५, २०७८ शुक्रबार ८:४५ बजे

सांकेतिक तस्बिर

मकवानपुर- मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बागमती गाउँपालिका-८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरूलाई सोही विद्यालयमा अध्यापनरत तीन जना शिक्षकहरूले यौन दुर्व्यवहार गरेको आरोपमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर किटानी जाहेरी दिइएको छ ।

घटना स्थानीय तहमै मिलाउन गरिएको दबाब र गृहकार्यका बीच पीडितहरूले प्रहरीमा जाहेरी दिएका हुन् । स्थानीयस्तरमै ज्यानै लिनेसम्मको धम्कीका बाबजुत पीडित र उनीहरूको अभिभावकहरूलाई प्रहरीको भ्यानमा राखेर हेटौंडा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चार जना पीडित बालिकाहरू, तीन जना बालिकाको अभिभावकहरू, चार जना अभियन्ता बालबालिकाहरू र अन्य दुई जना जिल्ला प्रहरी कार्यालय मकवानपुर उपस्थित भएर किटानी जाहेरी दिएका हुन् ।


दुई दिनअघि जिल्लाका अधिकारकर्मीहरूसँग जुनसुकै बेला निवेदन/जाहेरी लिन तयार रहेको बताएको इलाका प्रहरी कार्यालय फापरबारीले जाहेरी लिन नमानेपछि पीडितहरू जिल्ला प्रहरी कार्यालय आएका थिए । ‘जिल्ला प्रहरीमा समेत पीडित स्वयम् नभएसम्म जाहेरी लिन मानेन, मुद्दा शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जाहेरी नलिएपछि बालिकाका अभिभावकहरू बालिकाहरू लिएरै जोखिम उठाएर जिल्लामा आए’ एक जना अभियान्ताले भने ‘यति गर्दा पनि प्रमुख जिल्ला अधिकारीको फोनबिना प्रहरीले कलम उठाएन ।’

‘अन्यायका विरुद्ध जाहेरी दिइयो, तर ज्यानको सुरक्षा एकदम कम छ’ एकजना अभिभावकले भने । बालिका र अभिभावकहरू प्रहरीमा जाहेरी दिएर राति १२ बजे प्रहरीकै भ्यानमा घर फर्केका थिए । अन्य अभियान्ता बालबालिकाहरूलाई भने राति सिविन बाल हेल्प लाइनमा राखिएको थियो ।

तीन जना शिक्षकहरू लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकको नाममा पीडितले किटानी जाहेरी दिएका हुन् । विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन् । प्रहरीले जाहेरी नपरी पक्राउ गर्न नमिल्ने भन्दै बेवास्ता गर्दै आएको छ । विद्यालयमा तोडफोडको घटना भएको ४ दिन बितेको छ भने, आरोपित शिक्षकहरू २ हप्तादेखि बिदामा छन् ।

शिक्षकहरूको व्यवहारमाथि कारबाहीको माग गर्दै मंगलबार विद्यार्थीहरू तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मीहरू स्थलगत अध्ययनमा गएका थिए । विद्यालयका शिक्षकहरूले कक्षा चारदेखि माथिल्लो तहको विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुर्व्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरूले बताएका छन् । ति शिक्षकहरूले कक्षा चारमा पढ्दादेखि नै आफूहरूलाई नराम्रो छुवाइ गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा सातमा अध्ययनरत एक बालिकाले बताइन् । विद्यालयका बाल क्लबका अनुसार ति शिक्षकहरूबाट करिब ७५ जना बालिकाहरू पीडित छन् ।

शिक्षकविरुद्ध नबोल्न अभिभावकहरूले आ–आफ्ना बालिकाहरूलाई विद्यालय नपठाइ घरैमा राख्‍ने, कसैसँग भेटनसमेत नदिने गरेको पाइएको अधिकारकर्मीहरूले बताए । ‘हाम्रो समुहबाट नानीहरूलाई नबोल भन्दै स्कुल चौरबाट पिट्दै घर लगियो’ एक जना अभियान्ताले भनिन् ‘अवस्था भयावह छ, विद्यालयका शिक्षिकहरू पनि उच्च जोखिममा छन् ।’

बुधबार अधिकारकर्मीहरूसँग कक्षा चारदेखि सातसम्मका ३५ जना विद्यार्थीहरूले आफूहरूमाथि नियमित यौन दुर्व्यवहार हुँदै आएको बताएका थिए । कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाउने, विभिन्‍न बहानामा छात्राहरूको संवेदनशिल अंगहरूमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरूले बताएका थिए ।

शिक्षकहरूको अनैतिक कृयाकलापविरुद्ध विद्यार्थीले विद्यालय प्रशासनमा निवेदन दिएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षकहरू पनि स्थानीयवासी नै भएको र उनीहरूको इज्जतमाथि ख्याल राख्‍ने भन्दै घटना मिलाउन खोजेपछि विद्यार्थीहरू तोडफोडमा उत्रेका थिए । विद्यालय तोडफोड भएपछि बर्षौदेखिको अनैतिक गतिविधिबारे जानकारी बाहिर आएको थियो ।

तीनदिन अघि अधिकारकर्मीहरूले सत्य तथ्य बुझनको लागि स्थलगत अनुगमनका क्रममा पीडित बालिकाहरू, बालक्लबका सदस्यहरू, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटनाबारे जानकारी लिएका थिए ।

पीडितहरूले प्रशासनमा तीन शिक्षकहरूको नाम किटानीसहित कारबाहीको माग गर्दै २०७८ चैत्र ७ गते उजुरीसमेत दिइएका थिए । त्यसको न्यायोचित निर्णय नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी सिविन नेपाल, बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झबिन्द्र ज्ञवालीले बताए । घटना भएको लामो समय भएको र किटानी उजुरी नै दिएको दुई हप्ता नाघ्दासमेत कानून बमोजिम हुनुपर्ने कारबाही प्रक्रिया अगाडि बढ्न नसकेकोले सरोकारवालाहरू सम्वेदनशील नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।

स्थानीय केही सरोकारवालाको धारणा बुझ्‍दा यस समस्यालाई समाधानको निम्ति स्थानीय स्तरमै मेलामिलापको प्रयास गर्न खोजिएको, अभिभावकले पनि आफ्नै बालिकाहरूलाई नबोल्नका लागि दबाब दिएको प्रत्यक्ष देखिएको राडो नेपाल कार्यक्रम संयोजक दिपेन्द्र पाठकले बताए । ‘बालिकाहरूले ज्यान जोखिमको बारेमा बुझ्‍ने उमेर भएको छैन, तर जो जो अभिभावक जाहेरीको लागि आउनुभयो उहाँहरूको मनमा धेरै त्रास छ, उहाँहरू जोखिममा हुनुहुन्छ ।’ झण्डै एक सयको संख्यामा बालिकाहरू पीडित हुँदा केही अभिभावकहरू मात्रै न्यायको लडाईंमा उत्रनु भनेको अभिभावकहरूमा चेतनाको एकदमै कमी रहेको अधिकारकर्मी पाठकले बताए ।

नेपालको संविधान २०७२ ले मौलिक हककै रुपमा धारा ३९ को बालबालिका सम्बन्धी हक अन्तर्गत बालबालिकालाई सम्बोधन गरी बालबालिकामाथि हुने कुनै पनि शोषणलाई निषेध गरेको छ । प्रचलित मुलुकी अपराध संहिता २०७४ दफा २२४ ले कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन हुँदैन भनेको  छ भने दफा २२५ ले कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन भनेको छ । त्यसैगरी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ मा बालबालिकाविरुद्धको कसूर अन्तर्गत बालयौन दुर्व्यवहारलाई अपराध मानी दण्ड सजायको समेत व्यवस्था गरिएको छ । उल्लेखित अपराध गर्नेलाई ३ वर्षसम्म कैद र तीस हजारदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको अध्ययनान सहभागी सेलर्डका अधिवक्ता जगन्नाथ सुवेदीले बताए ।


Author

थप समाचार
x