गठबन्धनले जन्मायो विवाद
मकवानपुर– आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराउने दिन अब २ दिन मात्रै बाँकी छ । ११ र १२ वैशाखमा दलहरुले आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गराउनै पर्दछ ।
तर, मकवानपुरमा सत्ताधारी ५ दलीय गठबन्धनभित्र भएको सहमतिले पार्टीभित्र विवाद जन्माएको छ। गठबन्धनमा भएको सहमतिका कारण पार्टीभित्रको अन्तरद्वन्द्व यतिबेला छरपष्ट भएको छ । सत्तासाझेदार दलहरूलाई स्थानीय तहको निर्वाचनमा भागबण्डा मिलाउन निकै सकस खेप्नु परेको छ भने गठबन्धनमा सहभागी दलहरुले नै एकापसमा पार्टीको सांगठनिक अवस्थालाई कमजोर आँक्न थालेका छन् । यसले गर्दा फरक पार्टीबीचमासमेत दुस्मनी सुरु भएको छ।
उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएपनि दलहरुका बीचमा कुरा मिल्न सकेको छैन । केन्द्रमा सत्ता गठबन्धन दलहरुका बीचमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकिकृत समाजवादीले प्राप्त गर्ने निर्णय भए पनि जिल्लामा उक्त निर्णय नमान्ने भन्दै गठबन्धनको सबैभन्दा ठूलो पार्टी काँग्रेसले दिनमै २÷३ वटा पत्रकार सम्मेलन गर्दै आएको छ ।
निर्णय सच्याउन माग गर्दै नेपाली काँग्रेस मकवानपुर जिल्ला उपसभापति आनन्द कठायतसहित बहुमत पदाधिकारीले माग गरेका छन् । पार्टीको सांगठनिक हैसियतलाई भुल्दै सानो दलसँग झुकेर हेटौंडाको मेयर पद छोडेको कार्यकर्ताको आरोप छ ।
यता नेकपा एकीकृत समाजवादीले पनि आफ्नो हैसियत अनुसारको सम्मानजनक भाग नआएको भन्दै गाउँपालिकाहरुमा एकल चुनाव लड्ने तयारी गरेको छ। नेकपा माओवादी र एकिकृत समाजवादीले पनि कांग्रेसले मकवानपुर जिल्लाका अरु स्थानीय तहमा प्राप्त गर्ने भनिएको अध्यक्ष पद नदिने र आफै चुनाव लड्ने चेतावनी दिएका छन् । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी, राक्सिराङ, कैलासलगायतका क्षेत्रमा पनि माओवादी र समाजवादीले आफ्ना उमेदवार उठाउने र काँग्रेससँग प्रतिस्पर्धा गर्ने एकिकृत समाजवादीले तयारी गरेको छ ।
समाजवादीले जिल्लाको २ वटा पालिकामा आफ्नो एकल उम्मेदवारी सिफारिस समेत गरिसकेको छ ।
यसअघि दिनहुँ बैठक बसिरहेको भएपनि २ दिन यता गठबन्धन दलहरुका बीचमा औपचारिक बैठक समेत बस्न सकेको छैन । कांग्रेस मकवानपुरका नेताहरु केन्द्रमा गएर हेटौंडाको मेयर कुनैपनि हालतमा कांग्रेसले पाउनुपर्ने भन्दै दबाब दिईरहेका छन् ।
गठबन्धन दलहरुका बीचमा पटक–पटक सहमतिका लागि बैठक बसेपनि कुनै प्रगति नभएका कारण कांग्रेसको आवश्यकतामा बैठक नबस्ने र सत्तासाझेदार अन्य दलको समन्वयमा भने बैठक बस्ने बताइरहेको छ । भागबण्डा मिलाउन यसअघि बसेको गठबन्धनको बैठकमा माओवादी केन्द्रले वडा तहमै करिब ५० प्रतिशत भाग माग्दा सहमति जुट्न नसकेको हो।
यता एकिकृत समाजवादीले पनि आफ्ना मागहरुमा अडिग रहेको छ । जिल्लामा ठूलो दलको हैसियतले गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेस र एकीकृत समाजवादीले लचकता अपनाएर बैठकमा आ–आफ्नो दाबी प्रस्तुत गर्दासमेत माओवादी केन्द्रले वडा तहमा एक्लै करिब ५० प्रतिशत पाउनुपर्ने माग गरेको एकीकृत समाजवादी प्रचार विभागका एक नेताले भने ।
माओवादी केन्द्रले गठबन्धनको केन्द्रीय स्तरबाट बनाइएको मापदण्ड अनुसार आफूले पाउने पालिकाबाहेक मकवानपुरमा थप ३ वटा पालिका दाबी गरेको उनले बताए । केन्द्रीय तहले निर्धारण गरेको आधार र मापदण्ड अनुसार मकवानपुरको २ वटा पालिकामा माओवादी केन्द्रले स्वतः नेतृत्व पाउनुपर्ने र अघिल्लो निर्वाचनमा नेकपा एमालेले जितेको पालिकामा पनि आफूले नै नेतृत्व पाउनुपर्ने माओवादीको दावी छ ।
पार्टीभित्र कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्दा गठबन्धनमा सहमति नहुने र गठबन्धनको सहमतिले कार्यकर्ता रुष्ट हुने क्रम बढेपछि मकवानपुरमा गठबन्धनको प्रभावकारिता खासै नदेखिने भएको छ । “जबरजस्त लादिएको निर्णयले निर्वाचन नतिजामा अपेक्षित सफलता हात लाग्दैन” नेकपा मओवादीका एक नेताले भने “आज पार्टीको निर्णय चित्त नबुझेकाहरुबाटै भोलि गठबन्धनलाई घात नहोला भन्न सकिन्न ।”
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया