राष्ट्रिय खेलाडी सुशिलः कपाल काट्दै रंगशाला निर्माण, अबको यात्रा वडाको विकासमा
मकवानपुर - स्थानीय तह निर्वाचन–२०७९ सन्निकट छ । आगमी ३० वैशाखमा स्थानीय तहको जनप्रतिनिधिका लागि मतदान हुँदैछ ।
आफ्नो वडाका कस्ता जनप्रतिनिधिहरु ल्याउने, आफ्नो गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा कस्तो व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा पठाउने भन्ने बहस/ कौतुहलता र योजना मतदातामा छ । यो हुनु आवश्यक पनि छ ।
देशभर चुनावी माहोल चलिरहँदा उम्मेदवारहरु आफ्नो योजना र एजेण्डा लिएर वडा–वडा, टोल–टोल र मतदाताको दैलोदैलो पुगिरहेका छन् । चुनावी घरदैलो अभियानमा केन्द्रित रहेका उम्मेदवारहरुको भिडमा नै छन् हेटौंडा–५ बाट एमालेका उम्मेदवार सुशिल घिमिरे पनि ।
अधिकांश स्थिानीयतहरुमा पुरानै अनुहारहरुले नेतृत्वको उपस्थिती देखिए पनि उनी वडाका पुराना विकासप्रेमी तथा जनताको माझमा रमाएका व्यक्ति हुन् । “हेटौंडा ५ मा आशालाग्दा युवाहरु मध्येमा पर्दछन् सुशिल, विकासप्रेमी मान्छे” एमाले सचिवालय सदस्य इश्वर ढुड्डानाले भने “उनको नेतृत्वले हेटोंडा–५ लाई सुन्दर र नमुना बनाउने छ ।”
सुशिल पूर्व राष्ट्रिय बक्सिङ खेलाडी हुन् । सरल र ईमानदार व्यक्तिको रुपमा छवी बनाएको घिमिरेलाई एमालेले वडाबाट सर्वसम्बत वडाको अध्यक्षको लागी सिफारिस गरेपछि वडावासीमा आशा बढेको उनले बताए ।
को हुन सुशिल ?
महाकवि लक्ष्मीप्रसाद देवकोटाले एउटा रचनामा भनेका छन् ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक ।’ चन्द्र छुने उद्देश्य बोकेर हिडेका सुशिल आफ्ना वडावासीलाई उर्जा भर्ने काम गरेर देखाउने अभियानमा छन् । हेटौंडाको पिप्ले युवा क्लबका अध्यक्ष तथा नेपालका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी सुशिल घिमिरेले लिएको महत्वकांक्षी उद्देश्य चन्द्र छोएजत्तिकै सावित हुने छन्, जब उनी निर्वाचन जितेर वडाको समग्र विकासमा बागडोर सम्हाल्न पुग्नेछन् ।
उनले अगुवाइ गरेको केही कामले उनको लगाव र क्षमता परिक्षण भैसकेको बताउँछन् वडाका सुरेश लामिछाने । घिमिरेको अगुवाइमा देशकै नमूना क्याम्पा रंगशाला निर्माण भएर उदाहरणीय काम भएको छ । घिमिरे १२ वर्षको उमेरदेखि ‘मार्सल आर्ट’ क्षेत्रमा प्रवेश गरेका थिए । पछि मार्सल आर्टमा राम्रो भविष्य नदेखेपछि २०५४ सालमा बक्सिङ खेल्न शुरू गरेका उनले ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष जित हासिल गरे ।
बक्सिङमा मिलेको ठूलो उपाधि श्रीलंकामा भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक रहेको उनले बताए । २०५८ सालमा भएको नेसनल बक्सिङ च्याम्पियनसिपमा उनी २० वर्षको हुँदा पहिलोपटक नेपाल च्याम्पियन भएका थिए । १२ अन्तर्राष्ट्रिय खेलमा उनले ३ वटा उपाधि जितेको बताए । सन् २००४ मा विभागीय टोली सशस्त्र प्रहरीमा बक्सिङ खेलाडीका रूपमा आवद्ध भएका उनी सशस्त्रको टीमबाट खेल्न शुरू गरेपछि ६४ किलोग्राम तौल समूहमा निरन्तर १० वर्ष बक्सिङ च्याम्पियन बने ।
२०६० सालदेखि निरन्तर राष्ट्रिय च्याम्पियन भए । घिमिरे भन्छन्, ‘सानोमा काठमाडौंमा बक्सिङ प्रतियोगिता भएको थियो । त्यहाँ खेल्न जाँदा पहिलोपटक दशरथ रंगशाला घुम्न पुगे, रंगशाला देखेपछि आफ्नो ठाउँमा पनि यस्तै रंगशाला भइदिए हुन्थ्यो भन्ने सधैं मनमा लागिरहन्थ्यो । त्यो सयममा रंगशाला बनाउन सक्ने आँट नभए पनि सरकारले बनाउँछ कि भन्ने पनि आश थियो । यदि सरकारले बनाएन भने आफैंले बनाउँछु भन्ने सपना पनि बोकेर हिँड्थे सधैं ।’
खेल जीवन निरन्तर चलिरहँदा केही बाध्यता र केही रहर बोकेर खेल जीवन छाडेर मकाउ पुगे उनी । ‘मकाउको बसाइमा पनि निरन्तर रंगशाला बनाउने कुरा खेलिरहन्थ्यो,’ उनले भने, ‘७ वर्ष मकाउ बसें, त्यहाँ बस्दा साथीभाइको कपाल काटेर आएको पैसा जम्मा गरेर रंगशाला निर्माणका लागि अक्षयकोष बनाएँ’ उनले भने ।
घिमिरेले २०५५ सालताका ६ वर्ष पिप्ले चोकमा आफू र क्लबका साथीभाइ मिलेर सैलुन चलाएका थिए । कपाल काटेबापत सैलुनबाट प्रतिव्यक्ति आउने ५ रुपैयाँ जम्मा गरेर क्लबको जर्सी किन्ने र खेल हुँदा खेलाडीलाई ग्लुकोज पानी खुवाउन र खाजा खान खर्चिन्थें उनी ।
यसरी जम्मा गरिएको पैसाबाट अन्य ठाउँमा हुने प्रतियोगितामा क्लबका खेलाडीहरूलाई खेल्न लैजाने गरेको उनका पछि लागेर खेल जीवनमा रमाइरहेका खेलाडीहरुको स्मरणमा ताजै छ आज पनि ।
‘मकाउ पुगेर पनि मैले त्यही पुरानै कामलाई निन्तरता दिएर अतिरीक्त आम्दानी गर्ने र खेल क्षेत्रमा केही गर्ने योजना बनाएँ” उनी भन्छन् “समय मिलाएर साथीभाईहरुको कपाल काटें,त्यो पैसाको अक्षयकोष बनाए । मकाउ हुँदा उनी रेस्टुरेन्टमा काम गर्थे । त्यहाँको ड्युटीबाट छुटेपछि साथीको घर, कोठा पुगेर घरको भ¥याङमुनि कपाल काट्थे र शुल्क लिन्थे नेपाली ३०० रुपैयाँ । “नेपाल आएपछि अक्षयकोष स्थापना गरेर १० लाख जम्मा गर्छु भन्ने सोचेको थिएँ” उनले भने । कपाल काटेर कमाएको पैसा कभर्ड हल र रंगशाला निर्माणमा खर्च भएको उनले बताए ।
र, हेटौंडा फर्केपछि रंगशाला बनाउने सपनाले उनलाई निदाउन दिएन । २०७७ फागुनमा हेटौंडामा गोल्ड कप भयो । गोल्क कप हेर्न बाँसको प्याराफिट बनाइएको थियो, यो देखेर उनलाई अझै औडाहा भयो, दर्शको व्यापक भीड, प्याराफिट भने बाँसको । खेल हेर्दा हेर्दै हौसिएर उफ्रन खोज्दा लडेर दुर्घटना हुने जोखिम उत्तिकै ।
गोल्ड कपको उद्घाटन गर्न पुगे हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत । सुशिलले आफ्नो कुरा राखिहालेः ‘मेयर साप कतिञ्जेलसम्म यस्तो बाँसको प्याराफिटमा बसेर खेल हेर्ने ? आफ्नै ठाउँमा राम्रो रंगशाला बनाउन पाए हुन्थ्यो नि !’ मेयर महतले सकारात्मक जवाफ दिएपछि घिमिरेलाई थप हौसला मिल्यो ।
त्यसलगतै २०७८ वैशाखदेखि रंगशाला निर्माणका लागि मैदानको नापजाँच लगायत निर्माण लागत अनुमान गरियो । रंगशाला निमार्णका लागि ४ करोड अनुमानित लागत मूल्यांकन गरियो । सुशिल आफैं लागि परे रंडशाला बनाउन । अन्नतः लागत अनुमानभन्दा आधा कम अर्थात् झण्डै २ करोड रुपैयाँमा रंगशाल निर्माण सम्पन भयो ।
धर्तिमा उज्यालो छरीएदेखि साँझामा उज्यालो रहेसम्म रंगशालामा साबेल र पिक बोकेर भिडिरहेका भेटिन्थे सुशिल । उनको जोशलाई सघाए स्थानीय युवा र व्यवसायीहरुले र सघायो स्थानीय सरकारले पनि ।
होस्टे गर्नेको खाँचो थियो सुशिलले होस्टे गरे हैंसेमा थपिए अरु रुचिकर व्यक्तिहरु र बन्यो आकर्षक रंगशाला हेटौंडा–५ क्याम्पाडाँडामा । करीब ५ बिगाह क्षेत्रफलमा निर्माण भएको रंगशालामा करीब १० हजार दर्शक अटाउने क्षमताको छ । रंगशाला निर्माणमा हेटौंडा उपमहानगरपालिकाको १ करोड ९ लाख रुपैयाँ, ५ नम्बर वडा कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशिलले बताए ।
जनसमुदायबाट ३० लाख रुपैयाँ संकलन भएकाे थियो । निर्माण कार्यमा लाग्ने श्रम स्थानीयले जनश्रमदानमा सहयोग गरेका हुन् । रंगशाला निर्माणका लागि प्रदेश सरकारबाट कुनै पनि आर्थिक सहयोग भएन । यसअघि पनि उनले हेटौंडा–५ पिप्लेमा बक्सिङ रिङ सहितको बहुद्देश्यीय खेलकुद कर्भड हल बनाइसकेका थिए, भौतिक निर्माणमा उनको यो अनुभव रंगशला निर्माणमा समेत फलदायी बन्यो ।
‘कभर्ड हल निर्माण लागत मूल्यांकन १ करोड २५ लाख गरिएकोमा हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ र स्थानीय जनश्रमदानबाट सम्पन गरिएको थियो,’ उनी भन्छन्, “खेलाडी भएकोले यहाँ खेल मैदान बनाउँदा आफ्नै घर बनाइरहेको जस्तो आभाष भयो, घरभन्दा बढी यहाँ खटिरहेँ ।”
बागमती प्रदेशको राजधानीको रूपमा रहेको हेटौंडामा खेलकुदका लागि एउटा रंगशाला आवश्यक थियो । रंगशाला निर्माण हुनु भनेको खेल क्षेत्रको विकास हुनु हो। आगामी दिनमा रंगशालाले थुप्रै खेलाडी उत्पादन गर्ने विश्वास लिएको उनले बताए ।
हाल वडा अध्यक्षकको लागी चुनावी मैदानमा होमिएका उनै सुशिल आफ्नो लागि नयाँ क्षेत्र भएपनि यस्तै प्रकारको विकास निर्माणमा स्थानीयसँगै साबेल, कुटो कोदालो बोकेर हिड्ने बताउँछन् । ‘म वडामा शासन गर्न जाने हैन, वडाको विकासमा सहजिकरण गर्न जाने हो,मलाई विगतमा जस्तै वडावासीको साथ, माया र हौसला चाहिन्छ, उहाँहरुको मतदान मेरा लागि त्यहाँसम्म पुग्ने बाटो हो ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया