गण्डकी

विजयी र्‍यालीको खाजा ‘पोलेको मकै’

धनबहादुर गुरुङ |
जेठ १०, २०७९ मंगलबार २१:३८ बजे

पोखरा - पोखराको शहिदचोकमा ११ दिन यता चुनावी जोड घटाउ र विजयी र्‍यालीको सरगर्मी छ । दिनहुँ सयौं नेता कार्यकर्ताहरुको जमघट चलिरहेको हुन्छ । त्यही भिडको एक छेउमा पोखरा ७ की कल्पना मगर र उनकी छोरी नानुमाया मगरको दैनिक अगुल्टोको भुंग्रोमा मकैका घोगा ओल्टाइपल्टाइमै बित्छ ।

पोखरामा अहिले कुनै मेला महोत्सव र जात्रा त छैन् । तर निर्वाचनको मत परिणामको नतिजा सुन्ने नेता तथा कार्यकर्ताको हुलले जात्रा भन्दा बढी भिड छ । बिहानदेखि नतिजा सुन्न र विजयोत्सव मनाउने बसेका नेता कार्यकर्ताहरुको दिउँसोको खाजा नै मकै, चटपट र काक्रोले गरेको छ । यही कारण पनि शहिदचोकको फुटपाथमा मकै पोल्ने, काक्रो र चटपट बेच्नेको लर्को देखिन्छ । त्यही भिडमा ५६ वर्षीया कल्पना र उनकी छोरी बिहान करिब १० बजेदेखि ७ बजेसम्म आगोको रापमा व्यस्त हुन्छन् । उनीहरुलाई मकै पोलेर दिन भ्याइनभ्याई छ । अरु दिनभन्दा चुनावको कमाइ सोंचेभन्दा बढी भएको छ उनीहरुको । उनीहरुले पोखरामा मकै पोलेर दिन थालेको २ वर्षभन्दा बढी भयो । अरु समयमा भन्दा अहिले उनीहरुको व्यापार बढेको छ । 


 एक वर्षअघि श्रीमान्को मृत्यु भएपछि मकै पोल्ने पेशामा होमिएकी कल्पनाको बिहान बेलुका हात मुख जोड्ने माध्यम बनेको छ, यो पेसा । छोरीको बिहे भएपनि बाबु बितेपछि नानुमाया आमासँगै छिन् । छोरीसँगै साथमा छोरा पनि छन् । उनीहरुको आयस्रोतको माध्यम नै मालपोत अगाडि सिजन अनुसारका फलफूल बिक्री गर्नु हो । वैशाखको पहिलो हप्तापछि चुनावी सरगर्मीले व्यापार ओरालो लागेको समयमा मतगणनापछिको भिडले राहत मिलेको छ, आमाछोरीलाई । उनीहरुलाई न पार्टीको मतलब छ, न विजयी र्‍यालीको, उनीहरुलाई सरोकार छ कति घोगा मकै बिके कति पैसा जम्मा भयो भन्नेमा । तर त्यही विजयी र्‍यालीमा पुग्ने नेता कार्यकर्ताको भिडले उनीहरूको व्यापार उकालो लागेको छ । पहिले दैनिक तीन सय बचत हुन पनि धौं धौं हुने गरेकोमा हिजोआज आठ सय देखि एक हजारसम्म बचत गर्न भ्याएका छन् । ‘पहिले मकै खरिद गरेको रकम कटाएर दिनमा २/३ समय बचाउन पनि गाह्रो हुन्थ्यो,’ कल्पनाले भनिन्, ‘अहिले राम्रै कमाई भएको छ, के ढाट्नु छ र दिनमा ८/९ सय कमाई हुन्छ ।’ नेता कार्यकर्ताको भिडले आफूहरुको व्यापार बढेको उनले खुशी हुँदै सुनाइन् । जसका कारण उनीहरुलाई बिहान बेलुकाको छाक टार्न सहज भएको छ । पोखराको विभिन्न स्थानसँगै कास्की आसपासबाट घोगासँगै खरिद गर्ने मकै पोलेर बेच्दा एउटाको ५० रुपैयाँका दरमा बेच्छन् । 

मंगलबार मतगणनाको अन्तिम दिन भएका कारण उनीहरुलाई पिर पर्न थालिसकेको थियो । चुनावी जात्रा सकिएपछि उनीहरुको कर्मथलो नै मालपोत कार्यालयको वरिपरी हो । त्यहाँ बस्दा पनि नगरपालिकाले फुटपाथमा व्यापार गरेको भन्दै उर्दी जारी गर्छ । व्यापार कम हुने अनि नगरपालिकाको हेपाहा प्रवृतिले आजित उनीहरु फेरि त्यही भुमरीमा जानुपर्ने कारण चिन्तामा छन् । ‘अहिले त यहाँ राम्रो छ नि व्यापार पनि राम्रो छ, कहिले काही प्रहरीले फुटपाथमा नबेच्न त भन्छन् तर पहिला जस्तो समस्या छैन्,’ उनले भनिन्, ‘अब यहाँ मत गन्ने काम सकिन लाग्यो भन्छन् फेरि पुरानै ठाउँमा जानुपर्छ ।’

कल्पनाको आमा छोरी जस्तै उक्त स्थानमा १०/११ जनाको हाराहारीमा मकै बेच्नेहरु छन् । उही संख्यामा काक्रो र चटपट बेच्नेहरु छन् । निर्वाचनले उनीहरुको व्यापार राम्रो भएको उनीहरु बताउँछन् । 


Author

थप समाचार
x