गण्डकी

गण्डकी एमालेले भन्यो - बजेट छलफल सुरु नगरे मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ

धनबहादुर गुरुङ |
असार १५, २०७९ बुधवार ११:५ बजे

पोखरा - नेकपा (एमाले)ले गण्डकी प्रदेशको बजेटमाथिको छलफल रोकिएकोप्रति आपत्ति जनाएको छ । असार १ गते संसदमा पेश भएको बजेटमाथि दुई साता बित्दासम्म छलफल नचलेपछि बुधबार पत्रकार सम्मेलन गरेर एमाले संसदीय दल गण्डकी प्रदेशले आपत्ति जनाएको हो । 

पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव तथा एमाले संसदीय दल गण्डकीका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री र अर्थमन्त्रीको विवादका कारण बजेटमाथिको छलफल रोक्न नमिल्ने बताए । उनले तत्काल बजेटमाथिको छलफल अगाडि नबढाए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिएर बाटो प्रशस्त गरिदिनुपर्ने बताए । 


'अब त उहाँहरू माथि नैतिक प्रश्न उठिसक्यो उहाँले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्‍यो, त्यसपछि मिलेर सरकार चलाउने ढोका त खुलिहाल्छ नि,’ उनले भने,’ ‘कुर्सी पनि राखिराख्ने अनि त्यो कुर्सीको महिमा अनुसार दायित्व अघि नबढाउने कुरा लोकतान्त्रिक प्रणालीमा छोड्न मिल्छ ?’  उनले कांग्रेस र माओवादी केन्द्रको झगडाका कारण संसद्मा पेस भइसकेको बजेट रोक्न नमिल्ने बताए ।

चल्तीको नाम सांसद विकास कोष अर्थात् निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको शीर्षक नै अर्थमन्त्रीले काटी दिएपछि गण्डकीमा बजेटमाथिको छलफल सुरु नै हुन सकेको छैन । 

असार १ गते बजेट वक्तव्य संसद् बैठक चलेको छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ७२ करोड रुपैयाँ अर्थमन्त्री रामजी बरालले एकात्मक शासन प्रणालीको ‘अवशेष’ भन्दै काटिदिएका थिए ।

लामो समय निकास ननिस्किएपछि केन्द्रीय नेतृत्वसँग छलफल गरेर छुटेका कार्यक्रम राख्ने सहमतिसहित पोखरा फर्किएपछि पनि संसदमा बजेटमाथिको छलफल हुन सकेको छैन। 


Author

थप समाचार
x