गण्डकी

जब विदेशी पर्यटकले हिलोमा लडीबुडी गरे [फाेटाे फिचर]

धनबहादुर गुरुङ |
असार १५, २०७९ बुधबार १८:५० बजे

पोखरा। न्यूजिल्याण्डबाट नेपाल घुम्न आएका टिम बुधबार हिलोले चिनिनै नसकिने अवस्था भेटिए । उनको शरिरको कुनै ठाउँ थिएन हिलो नलागेको । पोखरा २५ हेमजाको फाँटमा उनी मात्र होइनन्, धेरै विदेशी चिनिनै नसकिने अवस्थामा थिए । उनीहरु हिलोमै रमाईरहेका थिए । ती मध्ये अष्ट्रेलियका टिम र अष्ट्रेलियाकी टायलाको घाँटीमा मेडल पनि झुण्डिएको थियो । करिब २ सयको हाराहारीमा विदेशी पर्यटकसहित हजारौंको संख्यामा स्वदेशी पाहुनाहरु रमाइरहेका थिए, ‘१७ औं असारे रोपाइँ महोत्सव’ मा ।


विगत वर्षमा जस्तै यसपटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाइँ महोत्सव भयो । हरेक वर्ष फरक–फरक ठाउँमा गरिँदै आएको महोत्सव यो पटक हेमजामा भएको हो । दोस्रो राष्ट्रिय हेमजा हिले महोत्सव पनि सँगै जोडेर स्थानीयले पनि राम्रै साथ दिएको महोत्सव दिनभर चल्यो । हिलोमा विभिन्न प्रतियोगिता भए । त्यसमा स्वदेशी तथा विदेशी पाहुनाको सहभागिता थियो । विदेशी पर्यटकका लागि मात्र राखिएको हिले दौडमा न्यूजिल्याण्डका टिम र अष्ट्रेलियाकी टायला प्रथम हुँदै मेडल र पुरस्कार हात पारे ।

महोत्सवमा सहभागी टिमले पहिलोपटक नेपाल आउँदा नै यति राम्रो महोत्सवमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । नेपालको रोपाई संस्कृतिको बारेमा सबैलाई सुनाउने उनको भनाई थियो । यस्तै टायलाले हिलोमा खेल्ने महोत्सव आफ्नो देशमा नभएकाले अनौठो लागेको प्रतिक्रिया दिइन् । २ हप्ताअघि नेपाल आएकी टायला पुनहिल गएर फर्किएको तर ट्रेकिङ जानुभन्दा असारे महोत्सवमा बढी रमाएको उनको प्रतिक्रिया थियो । ‘एकदम रमाईलाे लाग्यो, २ हप्ताअघि नेपाल आएर टे«किङ गएको थिए त्यहाँ भन्दा यो साह्रै रमाईलो भयो,’ उनले भनिन्, ‘म मेरो देशमा गएरपनि यसको बारेमा परिवार र साथीहरुलाई सुनाउँछु र समय मिलाएर अर्को पटकको महोत्सवमा फेरि आउनेछु ।’

असारे रोपाइँ महोत्सवको हिलो खेल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् थियो । ‘पोखरा सबै मौसमका लागि’, भन्ने नारासहित १५ असारे महोत्सव स्वदेशीदेखि विदेशीहरुका लागि आयोजना गरिएको महोत्सवका संयोजक पोमनारायण श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण २ वर्ष रोकिएको महोत्सवमा पाहुनाहरुको उपस्थितिले हौसला बढेको उनको भनाई थियो ।

महोत्सवमा विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, हिलोमा दौड प्रतियोगिता, रस्साकसी प्रतियोगिता, हिलोमा फुटबल प्रतियोगिता, पोखरा २५ का उत्कृष्ट कृषक तथा समाजसेवीको सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षणका रुपमा थिए ।


Author

थप समाचार
x