गण्डकी

लमजुङमा किटजन्य रोगको जोखिम उच्च

इकागज |
असार १९, २०७९ आइतवार १९:१७ बजे

फाइल तस्बिर

लमजुङ- लमजुङमा किटजन्य रोगहरूको उच्च जोखिम रहेको एक सर्वेक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जिल्लाको तीन पालिकामा एकीकृत रूपमा गरेको सर्वेक्षणबाट कीटजन्य रोगहरू औलो, हात्तीपाइले, इन्सेफ्लाइटिस र डेंगुको उच्च जोखिम रहेको पाइएको छ । 

जिल्लाको राइनास, मध्यनेपाल र सुन्दरबजार नगरपालिकामा गरिएको सर्वेक्षणबाट किटजन्य रोगहरू सार्ने जीवाणुहरू प्रसस्त मात्रा भेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले बताए । 


एकीकृत भेक्टर सर्भिलेन्सको नतिजाबारे जानकारी दिँदै भेक्टर कन्ट्रोल निरीक्षक बरालले कार्यालयले सर्वेक्षण गरेका स्थान तथा क्षेत्रहरू मध्ये राइनासमा औलो र हात्तीपाइले रोग सार्ने लामखुट्टे संख्यात्मक रुपमा सवैभन्दा वढी पाइएको बताए । सर्वेक्षणको नतिजाले राइनासका सो क्षेत्रमा अन्य रोगको तुलनामा औलो र हात्तीपाइलेको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

मध्यनेपाल नगरपालिकामा भने औलो र कालाजार संंक्रमणको जोखिम उच्च रहेको छ । सर्वेक्षण अनुसार ति रोग सार्ने भुसुनाको बास स्थान र संख्या बढी देखिएकाले नै संक्रमणको जोखिम देखिएको हो । 

यसैगरी सुन्दरबजार नगरपालिकामा भने कालाजार तथा डेंगु सार्ने जीवाणुहरू अधिक मात्रामा पाइएकोले उक्त रोगको जोखिम रहेको सर्वेक्षण नतिजाले देखाएको छ ।

 सर्वेक्षणका क्रममा सक्रमित लामखुट्टेको टोकाइबाट लाग्‍ने अन्य रोगहरूको पनि जोखिम देखिएको छ यद्यपि बढी मात्रामा डेंगु, औलो र हात्तीपाइलेको रोग सार्ने लामखुट्टेका जिवाणु भेटिएकाले व्यक्तिगत तथा वातावरणीय सरसफाई विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए। 

किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सँगै सम्वन्धित स्थानीय तहहरुले कार्यक्रम तथा बजेट व्यवस्था गरी नियन्त्रणका क्रियाकलाप गर्नुपर्ने कार्यालय प्रमुख दवाडीले बताए । रोग सार्ने लामखुट्टेका जिवाणु तथा लार्भा, भेक्तरहरुको वृद्धि विकास हुने स्थानहरु समेत नष्ट गर्नुपर्ने दवाडीको भनाइ छ । 

स्वास्थ्य कार्यालयले गत असोजमा राइनास नगरपालिका ४, गत वैशाखमा मध्यनेपाल ७ र यहि असारको पहिलो साता सुन्दरबजार नगरपालिका ६ मा किटजन्य रोगहरू सार्ने लामखुट्टेको सर्वेक्षण गरेको थियो । 


Author

थप समाचार
x