गण्डकी

‘रातो किताब सिरानी हालेर सरकार गायब भयो’

धनबहादुर गुरुङ |
असार २०, २०७९ सोमबार २१:१६ बजे

पोखरा - सांसद विकास कोषको बजेट काटिएपछि अन्यौलमा परेको गण्डकी प्रदेशको बजेट माथिको छलफल १९ दिनपछि सोमबार दिउँसो १ बजेदेखि सुरु भएको छ ।   

बैठकमा बजेट वक्तव्यमाथि छलफलको कार्यसूची थियो । तर संसदमा बजेट भन्दा बढी सरकारको आलोचना भएको छ । सरकारले रातो किताब सिरानी हालेर गायब भएको भन्दै किरण गुरुङले बजेट बक्तब्यमा कुनै प्राथमिकता नभेटिएको बताए । 


‘रातो किताब सिरानी हालेर सुत्दिनुभयो । यो भन्दा ठूलो लाजको पसारो के हुन्छ ? तपाईंहरुलाई लाज लाग्दैन ? यस्तो पनि हुन्छ ?,’ उनले भने, ‘प्राथमिकताका आधारमा नीति तथा कार्यक्रम र बजेट आयो भन्नुभएको छ । तपाईंहरुको प्राथमिकतामा कुन प्राथमिकता छ ?’ बजेट किताव र बक्तब्यबीच कुनै तालमेल नभएको उनको गुनासो छ । ‘अर्थमन्त्री ज्यूः तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ? यत्रो २० दिनसम्म संसदलाई बन्दी बनाउन पाइन्छ ? मुख्यमन्त्री ज्यू, २० दिनसम्म भुमिगत हुँदा बर्खायाम छ, कहीँ खिया त लागेको छैन ? तपाईं निरिह हुनुभएको छ,’ उनले भने, ‘केका स्वार्थका निम्ति संसद रोक्नुभयो ? दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका निम्ति मात्रै सरकारमा जानुभएको हो ?’ 

उनले गठबन्धन सरकारलाई सत्तामा पुग्ने अपेक्षा नै नभएको भन्दै सत्तामा पुगेपछि आफ्नो भूमिकाबाट बाहिर रहेको उनको टिप्पणी छ । सांसद धनन्जय दवाडीले अहिलेको बजेटले झन् बढी गरिवी निम्त्याउने बताए ।

‘आत्मनिर्भरतमा जाने भनेको छ । कृषिमा जोड दिएको भनेको छ । कति अर्वको धान आयात भयो तथ्यांक छ ? श्रम, मल र विउको आपुर्ती कहाँबाट गर्नुहुन्छ र कृषिमा आत्मनिर्भर हुन्छ ? तपाईंले ढाँट्नुभयो, छल गर्नुभयो,’ उनले भने । पुर्व पर्यटनमन्त्री विकास लम्सालले सरकार लोभी र नालायक भएको आरोप लगाए । एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्रीसँग असहमति भएपछि अर्थमन्त्री स्वतः हट्नुपर्ने बताए । 

सरकारको समर्थक पार्टी जनमोर्चाका सांसद खीमबिक्रम शाहीले बाढीले बगाएका संरचना निर्माण नभएको गुनासो गरे । ढोरपाटन स्थित भुजीखोलामा बाढी जाँदा पुल बगाएको तर सरकारले निर्माण नगरेको उनले बताए ।

२ वर्षअघिको बाढीले उक्त स्थानको पुुल बगाएको थियो । सत्तारुढ सांसद विष्णु लामिछानेले भने सरकारले ल्याएको बजेट समयसापेक्ष रहेको भन्दै समर्थन जनाए । 


 


Author

थप समाचार
x