गण्डकी

मंसिर ४ मा निर्वाचन तोकेसँगै 'उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम अनिश्‍चित

धनबहादुर गुरुङ |
साउन २०, २०७९ शुक्रवार १९:१४ बजे

पोखरा- गण्डकी प्रदेश सरकार गठन भएकै दिनको घोषणा पाँच वर्षसम्म पनि पूरा नहुने भएको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा पहिलो सरकार बन्दा घोषण भएको ‘उज्यालो गण्डकी प्रदेश’ कृष्णचन्द्र नेपाली पोखरेलको सरकारको मिति सकिँदासम्म पनि नसकिने छाँट देखिएको छ ।

विद्युतको कार्य क्षेत्रमा काम गर्ने गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यका अनुसार ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम पूरा हुन अझै ६ महिना लाग्छ । सरकारले निर्वाचनको मिति मंसिर ४ लाई तोकेकाले गण्डकी प्रदेश सरकारको पाँचवर्षे कार्यकालमा यो कार्यक्रम पूरा नहुने देखिएको हो ।​


संघीयतापछि बनेको प्रदेश सरकारको निर्वाचन पश्चात् २०७४ फागुन ४ गते पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको घोषणा थियो- ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम । आफू मुख्यमन्त्रीको कुर्सीमा बसेको २ वर्षमा कुनै पनि नागरिक अँध्यारोमा बस्‍नु नपर्ने उद्घोष गर्दै मुख्यमन्त्री गुरुङले ‘उज्यालो गण्डकी प्रदेश’ कार्यक्रम सपथ लिएलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय नै गराए । तत्कालीन गुरुङ सरकारले घोषणा गरेको कार्यक्रमले १ वर्षसम्म कुनै एक्सन लिन सकेन ।

निर्णय भएको १ वर्ष बितेपछि सरकारले सबै बस्तीमा बिजुली पुर्‍याउन गण्डकी प्रदेश सरकारले विद्युत् प्राधिकरणसँग सम्झौता गर्‍यो । त्यसपछि विद्युतीकरणको काम अघि बढ्यो । तर गुरुङ नेतृत्वको सरकार परिवर्तन भई कृष्णचन्द्र नेपाली पोखरेलको सरकार बनिसक्दासम्म पनि ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुन सकेको छैन ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा ९९.५० प्रतिशत घरधुरीले बिजुली बालेका छन् । प्रदेशमा अझै ०.५० प्रतिशत अर्थात् २ हजार ८ सय ८४ घरधुरी टुकीकै भरमा छन् । तथ्यांक अनुसार राष्ट्रिय विद्युत प्रसारण लाइन मार्फत् ९३ प्रतिशत र नवीकरणीय ऊर्जा मार्फत् ६.५० प्रतिशत विद्युतीकरणमा सहभागी भएका छन् । समग्रमा गण्डकीको ५ लाख ७४ हजार ७ सय ९८ घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

नवलपुर, बागलुङ र तनहुँका केही स्थानहरुमा बिजुली नपुगेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले जानकारी दिए । विभिन्न प्राविधिक समस्याका कारण ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्न नसकिएको उनले बताए । समस्या नभए अबको ५ महिनामा सबै घरमा बिजुली पुर्‍याउने आफूहरुको योजना रहेको उनले सुनाए । ‘विभिन्न प्राविधिक समस्या आउने रहेछन् । पोल ठड्याइयो तार छैन, तार टाँगियो ट्रान्सफर छैन, यस्तै समस्या छ,’ उनले भने, ‘केही समस्या नआए अबको ४/५ महिनामा बाँकी रहेको काम पूरा गर्छौं ।’

मन्त्री आचार्यले मन्त्रालयको काम ढिलाइ हुनुमा बजेट स्रोत अभाव र ठेकेदारको बदमासी रहेको उनले सुनाए । ‘मन्त्रालयमा अहिले निरन्तर रहेको कार्यक्रम सक्न १३ अर्ब बजेट आवश्यक पर्छ, यसले पनि समस्या छ,’ उनले भने, ‘निर्माण कम्पनीको बदमासीका कारण पनि मन्त्रालयको काम ढिलो भएको छ ।’

मन्त्री आचार्यले प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ नारा भेट्ने तयारी रहेको जानकारी गराएका हुन् । यसका लागि राष्ट्रिय प्रसारण लाइन तत्काल जोड्न सम्भावना नभएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखा जिल्लाका ७ स्थानीय तहका १ हजार २ सय ५ घरधुरीमा प्रदेश सरकारको ७५ प्रतिशत अनुदानमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरी बत्ती बालिएको मन्त्री आचार्यले जानकारी दिए ।


Author

थप समाचार
x