गण्डकी

ट्होटेको अवसरमा महानगरले दियो स्थानीय बिदा

इकागज |
साउन २९, २०७९ आइतबार १८:५५ बजे

पोखरा- गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा स्थानीय बिदा दिएको छ । साउन ३१ गते मंगलबार महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।

वर्षभरि विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन भनिएको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले जानकारी दिए । गुरुङ समुदायले साउन महिनाको अन्तिम मंगलबार र चैत्र महिनाको अन्तिम मंगलबार गरी वर्षमा दुई पटक आफ्नो मौलिक पर्वका रूपमा ट्होटे बनाउने गरेका छन् । यसलाई उभौली र उभौलीका रूपमा मनाउने गरिएको छ ।


परापूर्वकालदेखि समाजमा रहेको भूत प्रेतलाई धपाउनका लागि गुरुङ समुदायहरूले यो पर्व मनाउँदै आएको पाइन्छ । ट्होटे पर्वमा गुरुङ समुदायका मानिसहरूले विभिन्न हातहतियार, बाजाहरू डम्फु, झ्याली, चोपडी, सुलाची, चिम्टा लगायतका सामग्रीहरू प्रदर्शन गरी झाँकी निकाली धूप बालेर समाजमा रहेका भूतलाई धपाउने गर्दछन् ।
 
गाउँमा खेतीपाती राम्रो होस, शत्रुहरू नास होउन् भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिएता पनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउँदै आएको पाइन्छ । ट्होटेमा पछिल्लो समय गुरुङ मात्र नभई आदिवासी जनजातिहरू मगर, किरात, तामाङ, लिम्बु लगायतका समुदायहरू पनि सहभागी हुँदै आएका छन् ।

वर्षको दुई पटक उभौली र उँधौलीको रूपमा मनाइने गुरुङ समुदायको ट्होटे पर्वले गुरुङ समुदायको मात्र नभई सम्पूर्ण आदिवासी जनजातिको मौलिकतालाई जोगाउनुपर्छ भन्ने सन्देश दिन खोजेको पाइन्छ ।


Author

थप समाचार
x