गण्डकी

पोखरामा भेँडाच्यांग्रा : रोज्जालाई ५० हजार, छोड्डाको ३० हजार

इकागज |
असोज ११, २०७९ मगलवार ८:५७ बजे

फाइल तस्बिर

पोखरा- १० वर्षअघि देखि बझाङका बमबहादुर बोहराको दसैँ दैनिकी भेँडाच्यांग्रामै बित्छ । उनको अनुभवमा जति भेँडाच्यांग्रा ल्याए पनि पोखराबाट निरास भएर फर्कनुपर्ने अवस्था छैन । ‘पोखरामा भेँडाच्यांग्रा झार्ने वित्तिकै गोठ रित्तिन्छ । कहिलेकाहीँ अलि दिन कुर्नुपर्छ,’ उनले भने, ‘अरु ठाउँमा खासै विक्रि हुँदैन । महंगो पर्ने भएकोले पोखरा नै उपयुक्त बजार हो ।’

दसैँले छपक्कै छोपिसकेको छ । अहिले पोखराको याम्दी क्षेत्रमा भेँडाच्यांग्राको हुलैहुल भेटिन्छन् । पोखरामा च्यांग्रा संस्कृति धेरै पूरानो हो । यो वर्ष उपल्लो नाका नखुलेका कारण तिब्बती भेडा च्यांग्रा ल्याइएको छैन । नेपालका विभिन्न जिल्लाबाट आएको भेँडाच्यांग्राको भाउ निकै महंगो छ ।


लेकमा पाइने जडिबुटी खाएर हुर्किएका भेँडाच्यांग्राको मासु स्वादिष्ट र स्वास्थ्यका लागि पनि फलदायी हुने विश्वासले दसैँमा भेँडाच्यांग्राको माग बढी हुन्छ । बोहराले ल्याएको हुलमा रोज्जा च्याङग्राको मुल्य ४५ हजार छ । यहाँबाट एउटै च्यांग्राको मुल्य ५० हजारसम्म लिन्छन्, व्यवसायीले ।

मुस्ताङको कागबेनीदेखि च्याङग्रा ल्याएर याम्दीमा बिक्रिका लागि राखेका हेम्जाका झपट बहादुर थापाले रोजेर र जोखेर दुवै हिसावले च्यांग्रा बेचेका छन् । ‘रोजेर ३८ हजार देखि ४६ हजार मुल्य सम्मका छन् । जोखेर १३ सय रुपैयाँ किलोको हिसाबले बेचेको छु,’ उनले भने, ‘जसले पहिले ल्यायो, उसैको छिटो विक्रि हुन्छ । ६० वटा ल्याएको थिएँ, २० वटा बेचिसकें ।’

याम्दी पुल वारि धेरैले भेडाच्यांग्रा बेच्न थालिसकेका छन् । हेमजा र याम्दी क्षेत्रमा हिमाली जिल्ला मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, बझाङबाट बर्सेनी ल्याएर विक्रि हुन्छन् । मुस्ताङबाट झारिएका भेडाच्यांग्रा आज आइपुग्छन् । देशका धेरै जिल्लाबाट भेडाच्यांग्रा ल्याइएपनि वर्सेनी हुने मुल्य वृद्धीका कारण अधिकांश खरिद नगरी फर्किने गरेका छन् ।

बझाङबाट करिब २ सय ५० भेडाच्यांग्रा पोखरा झारेका राजेन्द्रबहादुर थामी रोज्जा च्यांग्राको मूल्य बढीमा ५० हजार रुपैयाँसम्म पर्ने बताउँछन् । बझाङमा खरिद दर नै बढी भएकाले मुल्य बढेको उनले सुनाए । ‘बझाङमै किन्दा एउटाको ४० हजार पर्‍यो । यहाँ ल्याउँदा महँगो त हुने नै भयो,’ उनले भने, ‘२ महिना अघिदेखि जम्मा गर्न पर्‍यो । पालिकालाई कर तिर्न पर्‍यो । अनि ल्याउँदा ट्रकको भाडा उस्तै महंगो छ ।’

गत वर्ष ३५ देखि ४७ हजार रुपैयाँसम्ममा च्याङग्रा बिक्री भएकोमा अहिले सामान्य ३२ हजारदेखि ५० हजारसम्म मुल्य पर्छ । दसैँमा मासुका लागि पोखरामा खसीबोका पनि उत्तिकै बिक्री हुन्छन् । भेडाच्यांग्रा किन्न नसक्नेहरु खसीबोकामै रमाउँछन् । दसैँको बेलामा बढी मासु खपत हुने पोखरामा विशेषगरी दाङ, नवलपुर, तनहुँ, पाल्पा र स्याङ्जाबाट खसीबोका ल्याइने गरिन्छ ।


Author

थप समाचार
x