गण्डकी

गण्डकीका ५५९ मतदान केन्द्र अतिसंवेदनशील

धनबहादुर गुरुङ |
कात्तिक २६, २०७९ शनिवार १४:३५ बजे

पोखरा- गण्डकीमा ५ सय ५९ वटा मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रदेशका ११ जिल्लाका कूल १ हजार २ सय ८३ मतदान स्थलमध्ये २ हजार ३ सय ३९ वटा मतदान केन्द्र छन् । तीमध्ये अतिसंवेदनशील ५ सय ५९ वटा र ९ सय ४५ वटा संवेदनशील छन् । यस्तै ८ सय ३५ वटा मतदान केन्द्र सामान्य छन् ।


गृह मन्त्रालय तथा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको संयुक्त आयोजनामा पोखरामा प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा उक्त बारे छलफल भएको थियो । संवेदनशील केन्द्रको निगरानी गर्दै निर्वाचन सफल बनाउन गोष्ठीमा छलफल भएको थियो । प्रदेश सुरक्षा समन्वय समिति सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिब १८ हजार सुरक्षाकर्मी खटाइने बताए ।

गण्डकीमा निर्वाचनका लागि ५ हजार सात सय ९९ जना प्रहरी खटिने छन् । ११ हजार ५ सय ८० जना म्यादी प्रहरी, ५ सय १६ जना मोबाइल प्रहरी र ६ सय ८८ जना म्यादी प्रहरी रहनेछन् । यस्तै २ सय २८ जना प्रहरी र १ सय २१ जना म्यादी प्रहरी रिजर्भमा राखिएका छन् । कारागारका मतदान स्थलमा ३० प्रहरी र ५० म्यादी खटाइने प्रदेश सुरक्षा समन्वय समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए ।

कर्मचारी मतदान स्थलमा १५ प्रहरी र २५ म्यादी, निर्वाचन सेलमा ८४ प्रहरीसहित छ हजार छ सय ८६ प्रहरी र १२ हजार चार सय ६४ जना म्यादी प्रहरी खटाइने उनले जानकारी दिए ।

सुरक्षा चुनौतीतर्फ निर्वाचन बहिष्कार गर्ने पार्टी तथा समूहका अवाञ्छित गतिविधि, आचारसंहिताको उल्लंघन, सामाजिक सञ्जालको दुरुपयोग, खुला सीमाका कारण साना हातहतियार, लागूऔषध ओसारपसार, हिमाली भेगमा सम्भावित हिमपात, सञ्चार सम्पर्क विच्छेद, दल तथा उम्मेदवारको अस्वस्थ प्रतिस्पर्धा, भौगोलिक विकटताका कारण मतपेटिका ढुवानीमा कठिनाइ लगायत रहेका छन् ।

सुरक्षा निकायका अनुसार निर्वाचनको बेला सधैं झै ३ घेराको सुरक्षा व्यवस्था कायम गरिनेछ ।

गण्डकी प्रदेशमा प्रतिनिधि सभा तर्फ १ सय ९६ जना र प्रदेश सभा तर्फ २ सय ३५ जना उम्मेदवार छन् । प्रतिनिधि सभा तर्फ २२ महिला र प्रदेश सभा तर्फ २९ महिला उम्मेदवार छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले इजाजत लिएका हात हतियार अझै नबुझाएका कारण चुनौती बढेको बताए । गण्डकीको गोरखामा रुइला भन्ज्याङ, नवलपुरको छोटी भन्सार तथा मुस्ताङको कोरला नाका सिल हुने छ । यद्यपि उत्तरका नाकाहरू कोरोनाकालदेखि नै बन्द अवस्थामा छन् । छोटी भन्सार समेत खासै चहलपहल छैन ।

गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन सफल बनाउन तीनै तहको सरकार एक भएर लाग्नुपर्ने बताए । निर्वाचन भय रहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकार एक भएर लाग्नुपर्ने उनको भनाइ थियो । संघीयता र लोकतन्त्रको मजबुति नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उनले बताए ।

उनले भने, 'निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । इलेक्सन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भय रहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।'

कार्यक्रममा गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिए । गोष्ठीमा १० जिल्लामा प्रजिअ र सुरक्षा प्रमुख भौतिक रूपमै सहभागी भएका थिए भने मनाङको टिमले भर्चुअल रूपमा सहभागिता जनाएको थियो ।


Author

थप समाचार
x