गण्डकी

बागलुङ १ : केसीलाई पछि पार्दै संसद्‍मा दोहोरिने दाउमा पाठक

इकागज |
कात्तिक २८, २०७९ सोमबार २१:५ बजे

गलकोट- बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिष्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा आएपछि यहाँको निर्वाचनलाई रोचक र पृथक ढङ्गले हेरिएको छ । 

केसीले आफू गठबन्धनको सुत्रधार रहेको बताउँदै निर्वाचनमा होमिँदै गर्दा नेकपा एमालेका युवा नेता डा सूर्य पाठकले केसीलाई चुनौती दिँदै आएका छन् । आफ्नो जनआधार रहेको क्षेत्र मान्दै आएको राष्ट्रिय जनमोर्चाले गठबन्धनको सहारामा पाठकलाई पछि पार्ने योजनामा छ । तर, पाठक पनि पछिल्लो समय एमालेको राष्ट्रिय राजनीतिमा जोडिएकाले उनलाई पनि कमजोर उम्मेदवारका रूपमा आकलन गर्न नमिल्ने विश्लेषकहरू बताउँछन् । केसीलाई पछि पार्दै संसद्‍मा दोहोरिने दाउमा छन् पाठक ।


निवर्तमान सांसद रहेका डा पाठकले पछिल्लो समय संसद्‍मा उठाएका आवाजहरूले आफूलाई मतदाताले रोजेको बताउँछन् । पाठकले कालीगण्डकी दोहन, मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको ढिलासुस्तीसहित बागलुङका समस्याहरू तत्कालै संसद्‌मा उठाएका कारण युवा माझ लोकप्रिय बनाएको छ । 

उनले आफूलाई युवा मतदाताहरूको साथ रहेको दाबी गर्छन् । आफूले यस क्षेत्रमा सांसद विजयी भएपछि जिल्ला नछोडेको र जनताका समस्याहरू बुझ्न सकेको भन्दै आगामी पाँच वर्षका लागि पनि आफ्ना सामु धेरै योजना रहेको र त्यसैका लागि आफूले यो कार्यकाल पनि यहाँका मतदाताको आस गरेको उनको दाबी छ । 

उता राजमोको आधार क्षेत्रमा गठबन्धनको दरिलो साथ पाएका कारण सजिलै चुनाव जित्ने केसीको पनि दाबी रहेको छ । 'स्थानीय निर्वाचनसँग अहिलेको निर्वाचनको अङ्क गणित नमिल्ने र अहिलेको निर्वाचनमा राष्ट्रिय विषयमा जनताको आवाज संसद्‍मा लैजाने र बागलुङका विकासको आधार खडा गर्ने पक्षमा जनमत प्राप्त हुने पाठकको भनाइ छ । 

अघिल्लो सांसदको कार्यकालमा आफूले खेलेको संसदीय भूमिका र बागलुङको विकास निर्माणसँग आफू प्रत्यक्ष जोडिएका कारण आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको पाठकको दाबी रहेको छ । यस्तै केसी पनि गठबन्धनको बलियो जगमा चुनावी मैदानमा उत्रिएको र आफ्नो पक्षमा नै जनमत रहेको दाबी गर्छन् । राष्ट्रिय स्तरका नेताको रूपमा परिचित चित्रबहादुर केसीलाई जसरी पनि विजयी गराउनुपर्ने सत्ता गठबन्धनका दलका बीचमा दबाब छ । 

पाँच दलीय गठबन्धनको मतभार आफ्ना प्रतिष्पर्धीको भन्दा धेरै बढी भएका कारण आफूले यस पटकको निर्वाचन सजिलै जित्ने केसीको भनाइ छ । 'पहिलो कुरा त बागलुङ जनमोर्चाको आधार भएको स्थान हो, त्यसमध्ये कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको भोट थपिदा मैले फराकिलो मतान्तरले निर्वाचन जित्ने छु,' केसीले भने, 'यो निर्वाचन संविधानको रक्षा गर्ने र संविधान मास्नेबीचको प्रतिष्पर्धा हो, यस पटकको निर्वाचनमा प्रतिगमनकारीहरूलाई जनताले चिनाइ दिनेछन् ।'

गठबन्धनको मतभार धेरै भएको यस क्षेत्रमा नेकपा एमालेले विभिन्न योजना लिएर गठबन्धनका उम्मेदवारभन्दा आफू अब्बल हुने धेरै प्रयत्‍न गरेको छ । नेपाली राजनीतिमा पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा युवालाई जिताउनुपर्छ भन्दै प्रचारमा जुटेको छ एमाले । सत्ता गठबन्धनको तालमेलले मात्रै यस क्षेत्रबाट निर्वाचन जित्न सकस हुने र जनमोर्चा बाहेकका अरू दलहरूको सबै मत केसीलाई नआउने पाठकको दाबी छ भने उता केसीले गठबन्धनको पूर्ण कार्यान्वयन गर्दा आफूले सजिलै चुनाव जित्ने बताउँछन् । 

विसं २०५६ र २०६४ को पहिलो संविधानसभा चुनावमा भारी मतका साथ विजयी भएका केसी विसं २०७० को चुनावमा समानुपातिक सांसद बनेका थिए । २०७४ मा पाठकले वाम गठबन्धनको बलमा ३३ हजार छ सय ५७ मत ल्याई विजय हासिल गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी चम्पादेवी खड्काले २० हजार छ सय १६ मत प्राप्त गरेकी थिइन् । त्यतिबेला पाठकलाई माओवादीको मत थियो भने अहिले त्यो मत केसीको गठबन्धनमा आबद्ध भएको बताइन्छ । 

बागलुङ क्षेत्र नम्बर १ अन्तर्गत दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तह पर्छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, वरेङ गाउँपालिका र काठेखोला गाउँपालिका समेटिएका छन् । स्थानीय तहमा बागलुङ नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले जितेको छ भने जैमिनी नगरपालिका प्रमुख जनमोर्चाले र उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै काठेखोला गाउँपालिका प्रमुख कांग्रेस र उपप्रमुख जनमोर्चाले जितेको छ भने वरेङ गाउँपालिका प्रमुख जनमोर्चा र उपप्रमुख कांग्रेसले जितेको छ । 

केसी र पाठकबाहेक राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, कांग्रेस बीपीका शिवलाल सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र स्वतन्त्रबाट चन्द्रबहादुर क्षेत्री पनि यस क्षेत्रको चुनावी मैदानमा छन् ।


Author

थप समाचार
x