गण्डकी

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै

धनबहादुर गुरुङ |
कात्तिक २८, २०७९ सोमवार २१:४० बजे

पोखरा- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १ जनवरी २०२३ देखि पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने मिति तय गरेको छ । यसका लागि सम्बन्धित सबै क्षेत्रलाई तयार रहन क्यान आग्रह गरिसकेको छ । पर्यटकीय नगरी पोखरामा निर्माणको अन्तिम चरणमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान तयारी भई रहेको छ । 

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सो विमानस्थलबाट छिमेकी देश भारतमा उडान सुरु गर्ने जनाएको छ । एयरले विज्ञप्ति मार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान भर्ने जानकारी दिएको हो । विज्ञप्‍तिमा लेखिएको छ, ‘जनवरी २०२३ देखि अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने जानकारी प्राप्त भएको छ । त्यहाँबाट हुने प्रथम अन्तर्राष्ट्रिय उडानको रूपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा हप्तामा तीन दिन उडान सुरु गर्ने योजना प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेका छौँ ।’ बुद्ध एयरले पोखराबाट सातामा तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान गर्ने जानकारी दिएको हो । 


यस्तै, एयर ट्राफिक सर्भिस (एटिएस) रुटका लागि नेपाल सरकारले भारतसँग पहल गरिरहेको छ । भारतबाट रुट र स्लट स्वीकृति प्राप्त हुना साथ पोखरा–दिल्ली–पोखरा प्रत्येक दिन दुई उडान र पोखरा–देहरादुन–पोखरा हप्तामा तीन उडानका लागि प्रक्रिया यथाशीघ्र अगाडि बढाउने बुद्धले जनाएको छ । बुद्ध एयरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारसमा नियमित उडान गर्दै आइरहेको छ । 

हट्ला त विमास्थलको बाधा ?

क्यानले झन्डै तीन महिना अघि नै सन् २०२३ जनवरी १ लाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दिन तोकेको हो । उक्त समय आउन अब पुगनपुग २ महिना मात्रै बाँकी छ । विमानस्थल सञ्चालनलाई अवरोध मानिएका मुख्य बाधा अझै हटिसकेका छैनन् । पोखराको ल्याण्डफिल्ड साइट र रिठ्ठेपानी डाँडा बाहिर देखिएको मुख्य बाधक हो । 

तर, बाधा हट्ने/नहट्नेमा शंका भए पनि तोकिएकै समयमा उडान गर्ने गरी तयारी तीव्र पारिएको छ । उडानका लागि ३० नोभेम्बरमा क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान गर्ने क्यानको तयारी छ । एरोथाईको विशेष उपकरण जडित विमानले विमानस्थलमा जडान गरिएका सञ्चारका यन्त्र उपकरणको परीक्षण गर्नेछ ।
क्यालिब्रेसन फ्लाइटको पनि रिठ्ठेपानीमा दुईवटा डाँडा कटान गर्नुपर्छ । डाँडाको होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गर्नुपर्छ । तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर मात्र उचाई काटे पुग्छ ।

क्यालिब्रेसन फ्लाइटका लागि १४ मिटर डाँडा कटान गर्नका लागि एक महिना मात्र समय दिने प्राधिकरणले बताएको छ । डाँडा कटान सुरु भइसकेकाले केही समयपछि क्यालिब्रेसन फ्लाइट सुरु क्यानले जनाएको छ । यसअघि विमानस्थलको धावन मार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रो पटकका लागि विमानस्थलको म्याद थपिएको थियो ।

अर्को बाधा भनेको ल्याण्डफिल साइट स्थानान्तरण हो । पोखरा महानगरले पोखरा–१४ को बाच्छेबुडुवा क्षेत्रमा सहरको फोहर व्यवस्थापन गर्दै आएको छ । चरा विज्ञहरूले विमानस्थल सञ्चालनमा आउनुभन्दा कम्तीमा ६ महिना अघि नै हाल प्रयोगमा रहेको ल्याण्डफिल साइट खालि गर्नुपर्ने बताइरहेका छन् । तर, अहिलेसम्म पनि सो स्थानमा फोहोर फाल्ने काम चलिरहेको छ ।

महानगरका प्रमुख धनराज आचार्य भने विमानस्थल सञ्चालनमा महानगरले साथ दिने र बाधा हटाउने काममा लाग्ने बताए । उनले ल्याण्डफिल साइट बाधक नहुने गरी काम भइरहेको जानकारी दिए । ल्याण्डफिल साइट अन्यत्र सार्ने भन्दा पनि फोहर प्रशोधन गर्ने प्लान्ट जडान गर्ने तयारी भइरहेको छ । प्रशोधनपछि निस्केको न्यून फोहरलाई कुनै ठाउँमा व्यवस्थित गर्ने गरी तयारी गरेको आचार्यले बताए ।

‘विमानस्थल सञ्चालनको दिनसम्म अहिलेको ल्याण्डफिल साइट त्यहाँबाट हटिसक्छ,’ उनले भने, ‘ल्याण्डफिल साइट कहिल्यै नचाहिने गरी व्यवस्थापन गर्दैछौं ।’ 

असार ०७४ देखि निर्माण सुरु गरेको विमानस्थलको काम अन्तिम छ । २१ अर्ब ६० करोड रुपैयाँ अनुमानित लागत रहेको विमानस्थल चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले निर्माण गरिरहेको छ । यो अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को मापदण्डअनुसार फोरडी मोडेलमा निर्माण गरिएको हो ।

 


Author

थप समाचार
x