गण्डकी

‘मन्त्री पदबाट मेरो बर्खास्तीको कारण नेतृत्वसँग सोध्छु’: कुमार खड्का

धनबहादुर गुरुङ |
कात्तिक ३०, २०७९ बुधबार १२:८ बजे

पोखरा । गण्डकी प्रदेश सरकारमा निर्वाचनको समयमा एकपछि अर्को मन्त्री बर्खास्तीमा परिरहेका छन् । निर्वाचन प्रचारप्रसार कै क्रममा कात्तिक २२ गते उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको थियो । 

आचार्यलाई निर्वाचनका समयमा गठबन्धनलाई सहयोग नगरेको आरोपमा हटाइएको थियो । उनी बर्खास्तीमा परेको एक हप्ता पछि मंगलबार फेरि अर्को मन्त्री बर्खास्तमा परेका छन् । गण्डकी प्रदेश सरकारका प्रवक्ता समेत रहेका यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् । 


पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मन्त्री खड्का बर्खास्तीमा परेका बताईएको छ । कास्की क्षेत्र नम्बर २ (ख) बाट कांग्रेसका उम्मेदवार एवं कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापालाई चुनावमा असहयोग गरेको आरोप उनी माथि छ । थापा र खड्का कास्की २(ख) को उम्मेदवार रेसमा थिए । अन्त्यमा थापाले टिकट पाएका थिए । 

चुनावी घरदैलो र कोणसभाहरुमा समेत उनी उपस्थित नभएपछि उनीविरुद्ध पार्टी केन्द्रीय समितिमा मौखिक उजुरी पुगेको बताइएको छ । यी र यस्तै सूचनाका आधारमा मुख्यमन्त्री पोखरेलले उनलाई जिम्मेवारीबाट मुक्त गराएका हुन् । 

बर्खास्तीमा परेपछि खड्काले आफूलाई हटाउनुको कारण थाहा नभएको बताए । ‘म बहालवाला मन्त्री भएका कारण चुनावी प्रचारमा निर्वाचन आयोगको बन्देज थियो । त्यसैले निर्वाचनमा निस्किन सकिनँ,’ उनले भने, ‘त्यो बाध्यतालाई नबुझेर कपोकल्पित आरोपहरु लगाइएको छ ।’ उनले आफ्नो बर्खास्तीबारे केन्द्रीय नेतृत्वसँग सोधेर मात्रै निर्णय लिने बताए । ‘अहिले नै के गर्ने भन्ने निर्णयमा पुगेको छैन । मेरो बर्खास्तीको कारण नेतृत्वसँग सोध्छु । केही दिनमा थाहा होला अनि निर्णय लिन्छु,’ खड्का भन्छन्, ‘जे भयो यो मिडियामार्फत् समाचार सुन्दा अनौठो र अचम्म लाग्यो ।’  

खड्का २०७८ जेठ २९ गते मन्त्रीमा नियुक्त भएका थिए । असार ११ गते शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका उनी साउन ८ गते भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । उनी गण्डकीको प्रभावशाली मन्त्रीमा गनिन्थे । 

क्षत्री समाजको राजनीति गरेर उदाएका उनी अघिल्लो निर्वाचन २०७४ सालमा तत्कालीन अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएर समानुपातिक सांसद बनेका हुन् । चुनावको मुखमा मन्त्रीको बर्खास्तीले गठबन्धनलाई असर पार्न सक्ने केहीको आँकलन छ । 
 


Author

थप समाचार
x