गण्डकी

कास्कीमा ३ नमुना मतदान केन्द्र, जहाँ महिला कर्मचारी मात्र खटिँदैछन्

धनबहादुर गुरुङ |
मंसिर ३, २०७९ शनिवार १७:१० बजे

पोखरा- कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमध्ये हरेक क्षेत्रका एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मतदान प्रक्रिया टुंगाउने जिम्मा पाएका हुन् । जसलाई निर्वाचन अधिकृतको कार्यालयले ‘नमुना मतदान केन्द्र’ भनेको छ । जहाँ जसमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी हुनेछन् ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्येक क्षेत्रमा एक/एक वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिला छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा दिइएको हो ।


कास्कीको क्षेत्र १ अन्तर्गत जनप्रकाश मावि मतदान केन्द्रलाई गीता न्यौपानेको टिमले हेर्दैछ । जसका लागि आफ्नो टिम तयार रहेको न्यौपानेले बताइन् । ‘यहाँ मसँगै ८ जना कर्मचारी महिला नै हुनुहुन्छ । स्वयंसेवक पनि मैले महिला नै नियुक्त गरेकी छु,’ उनले भनिन् । यसअघि धनकुटामा पनि महिलामैत्री मतदान केन्द्रको नेतृत्व गरेकाले सबैलाई सिकाउँदै सफलतापूर्वक सम्पन्न गर्नेमा विश्वस्त रहेको उनले बताइन् ।

कास्की क्षेत्र २ अन्तर्गत पार्दी माविको मतदान केन्द्रको नेतृत्वको सरिता रायमाझीले गर्दै छिन् । ‘यसअघि २ पटक मतदान अधिकृत भइसकेको हो । मतदान अधिकृत भने पहिलो पटक हो,’ उनले भनिन्, ‘त्यसैले पनि मलाई गाह्रो केही पनि छैन, तयारी तीव्र भइरहेको छ ।’ उनले पनि यसअघि निर्वाचन अधिकृत भएर काम गरिसकेकाले आफ्नो नेतृत्वको मतदान केन्द्रमा सहज ढंगबाट काम सक्ने विश्वास व्यक्त गरिन् ।

कास्की क्षेत्र ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्क मतदान केन्द्रको गीता घिमिरे दोरंगाले नेतृत्व गर्दै छिन् । नमुना मतदान केन्द्रको अवधारणा निकै राम्रो भएको उनले सुनाइन् । महिलालाई दिएको नेतृत्व सफलताका साथ सम्पन्न गराउन कटिबद्ध भएर लाग्ने उनको भनाइ थियो । 

जिल्लामा प्रतिनिधि सभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । 


Author

थप समाचार
x