गण्डकी

मतदान गर्न घोडा चढेर एक दिनको बाटो

इकागज |
मंसिर ३, २०७९ शनिबार १७:२७ बजे

गलेश्वर- म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठ जनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने लुलाङदेखि घोडामा चढेर आफ्नो मतदान केन्द्र गुर्जातर्फ लाग्यो ।

म्याग्दी सदरमुकाम बेनीबाट २६ कोष टाढा धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेको जनकल्याण माविको मतदान स्थलमा भोट खसाल्न छन्त्याल र उनको परिवारसहितको टोली काठमाडौँदेखि बेनी आएर गुर्जा जान थालेको हो । सडक सञ्जालले नछोएको गुर्जा म्याग्दी जिल्लाकै अत्यन्त विकट ठाउँ हो । जनकल्याण माविको मतदान केन्द्रमा सात सय ५४ मतदाता छन् । तीमध्ये करिब एक सय मतदाता गाउँबाहिर नै रहेकाले यसरी नै घोडा चढेर वा पैदल नै एक दिनको बाटो हिँडेर लुलाङदेखि गुर्जा पुग्न बाध्य भएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए ।


मतदानका लागि गाउँबाहिर रहेकाहरू गाउँ आउन सुरु भएको उनले जानकारी दिए । लुलाङसम्म सवारीसाधन र त्यसपछि एक दिनको पैदल यात्रा गरेर पुगिने जिल्लाको अति विकट गुर्जाको मतदान केन्द्रमा खटिएका कर्मचारीहरूले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् । भोलि हुने निर्वाचनका लागि गुर्जामा २० जना कर्मचारी खटाइएको छ ।

जिल्लाकै अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले पनि संवेदनशील मानिएको गुर्जामा आवश्यक सुरक्षाकर्मीसहितको टोलीसमेत पठाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए ।

एउटा मात्र मतदान केन्द्र रहेको गुर्जामा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित आठ जना निर्वाचन कर्मचारी र १२ जना सुरक्षाकर्मीसहित २० जना खटिएका छन् । यहाँ भोलि हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मतदान अधिकृत अमृतप्रसाद सुवेदीले जानकारी दिए ।

म्याग्दी जिल्लामा ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर कूल नौ सय ५२ जना कर्मचारी परिचालन गरिएको छ ।

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।


Author

थप समाचार
x