गण्डकी

सत्ताको चास्नीमा रमाउन पार्टी फेर्ने दिपक मनाङे

इकागज |
मंसिर १९, २०७९ सोमवार २०:४२ बजे

फाइल फोटो

पोखरा - मनाङ (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अबिर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनले भनेका छन्, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यकता हो ।’ उनले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिलेको बताए । उनले निस्वार्थ सेवाभावका रुपमा राजनीतिलाई चित्रण गरिरहँदा मनाङे आफैँ सत्ताका लागि पटक पटक पार्टी फेर्ने पात्रको रुपमा स्थापित भएका छन् । 


२०७५ सालमा सांसदको सपथ लिनुअघि उनी जेलमा थिए । कर्तव्य ज्यान मुद्दामा दीपक मनाङे २०७४ को चुनावमा मनाङ (ख) बाट निर्वाचित भए । उनलाई तत्कालीन बाम गठबन्धनले सघाएको थियो । निर्वाचित भएपछि करिब ८ महिना जेल बसेर निस्किएका मनाङे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै प्रयोग गरेर संसद छिरे । सभामुख र मुख्यमन्त्रीले नचाहेको भए मनाङेले सपथ लिन समेत पाउने थिएनन् । सपथ लगत्तै उनी नेकपा प्रवेश गरे । 

२०७३ सालमा राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष सर्वसम्मत चुनिएका दीपक मनाङे २०७४ को निर्वाचनसम्म स्वतन्त्र भैसकेका थिए । उनले सबै राजनीतिक पार्टीबाट सन्यास लिए । राप्रपा कमजोर हुँदै गएको मनाङमा पार्टीबाट चुनाव जित्ने सम्भावना नदेखेका उनले स्वतन्त्र बनेर एमालेको साथ पाए । राप्रपामा आवद्ध हुनुअघि मनाङे कांग्रेससँग निकट थिए । राप्रपा छाडेर केही समय संघीय समाजवादी नेपालसँग पनि आबद्ध भए । मनाङे सांसदमा निर्वाचित भएपछि पक्राउ परेका हुन् । 

नेकपा विभाजनको संकेत पाउने बित्तिकै प्रदेश सभाको संसदीय दलमा नरहेको घोषणा गरे । केही समय उनी सरकारमा युवा तथा खेलकुद मन्त्री बने । गुरुङको सत्ता ढलेपछि मनाङे गठबन्धनतिर ढल्किए । उनले नै समर्थन गरेर गण्डकीमा नयाँ सरकार बन्यो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङ (ख) बाट पुनः उम्मेद्वारी दिए । उनका विरुद्धमा एमालेले जिल्ला सदस्यलाई उम्मेदवार बनाएको थियो । मनाङेले एमालेलाई फकाए, आफुलाई सर्वसम्मत निर्वाचित गराए । मनाङे कूटनीतिक छन् । राजनीतिको केन्द्रमा रहन उनले पार्टीलाई ढाल बनाइरहेका छन् । अहिले गण्डकीमा सत्ता गठबन्धनको बलियो बहुमत छ । कांग्रेस र माओवादी मिल्दा पनि सरकार बन्न सक्छ । त्यसो हुँदा स्वतन्त्र चुनाव जितेका मनाङे सरकारमा नअट्ने अवस्था छ । 

त्यसैले मनाङेले दिमाग लगाए, स्वतन्त्रबाट सरकारमा जान नपाउने बुझेपछि उनी सत्ता गठबन्धनकै दलमा प्रवेश गरे । त्यो पनि कमजोर पार्टी, एकीकृत समाजवादीमा । उनी प्रवेश गरेसँगै गण्डकीमा एकीकृत समाजवादीले एक सांसद पाएको छ । उनको प्रवेशले मनाङे र एकीकृत समाजवादी दुवैलाई फाइदा छ । एसले संसदमा प्रतिनिधि पाएको छ भने मनाङेले मन्त्री पाउने छन् । गुण्डा नाइके मनाङे पटक पटक दलहरुलाई झुक्याउँदै सत्ताको चास्नीमा रोमान्स गरिरहेका छन् । 
 


Author

थप समाचार
x