गण्डकी

गण्डकी प्रदेश सभा : समानुपातिकमा मनाङ, मुस्ताङ र तनहुँबाट शून्य

धनबहादुर गुरुङ |
मंसिर २५, २०७९ आइतबार १२:३४ बजे

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सभामा सहभागी हुने ४ वटै राजनीतिक दलले समानुपातिक सांसद टुंग्याएका छन् । प्रदेशमा समानुपातिकतर्फ पहिलो बनेको नेकपा एमालेले १० जना, कांग्रेसले ९ जना, माओवादी केन्द्रले ३ जना र राप्रपाले २ जनाको नाम टुंगो लगाएको हो ।

दलहरुले बुझाएको नामअनुसार मनाङ, मुस्ताङ र तनहुँ समानुपातिक सांसद पाउनेमा शून्य भएको छ । समानुपातिकको सूचिमा सबैभन्दा बढी सांसद बागलुङले पाएको छ । बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन् । यस्तै, कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १÷१ सांसद बनेका छन् । योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन् । 


कास्कीमा समान ११ सांसद भएका छन् । प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन् । प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित बागलुङबाट पनि ११ सांसद बनेका छन् ।  यस्तै स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन् । गोरखा र लमजुङमा ५÷५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३÷३ जना सांसद छन् । मनाङ र मुस्ताङमा २÷२ जना सांसद छन् । मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन् । 

सबैभन्दा बढी सिट समानुपातिकबाट पाएको एमालेले ४ जना खसआर्य, ४ जना आदिवासी जनजाति र २ जना दलित कोटा पुर्‍याएको छ । कांग्रेसले ४ जना आदिवासी जनजाति, ३ जना खस आर्य र २ जना दलित सांसद बनाएको छ । यस्तै, माओवादीले खसआर्य, आदिवासी जनजाति र दलितमा १÷१ जना महिला छानेको छ भने राप्रपाले आदिवासी जनजातिबाट पुरुष र खसआर्यबाट महिलालाई अघि बढाएको छ ।

एमालेबाट खस आर्य महिलामा यसोदा रिमाल र देवका पहारी त्रिपाठी तथा पुरुषमा कृष्णप्रसाद पाठक र प्रकाश केसी सांसद बनेका हुन् । दलित कोटामा महिलामा नन्दकला दमाई र पुरुषबाट गोविन्दबहादुर नेपाली सांसद बनेका छन् । आदिवासी जनजाति क्लष्टरबाट महिलामा बिना थापा, निर्मला थापा र राजकुमारी भुजेल तथा पुरुषमा लिलाबहादुर थापाको नाम टुंगो लागेको छ ।

कांग्रेसबाट सांसद बनेका ९ जना नै महिला छन् । खस आर्यमा सरस्वती अर्याल, चम्पादेवी खड्का र कल्पना तिवारी सांसद बनेका छन् । आदिवासी जनजातिमा विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ छनोट भए । भने, दलितमा टिकाकुमारी बस्याल र दिलमाया पौविको टुंगो लागेको हो । माओवादी केन्द्रबाट कुशुम बुढा, सुशिला सिंखडा र दमयन्ती रुचाल सांसद बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पन्चराम गुरुङ र विन्दु पहाडी सांसद बनेका छन् ।

प्रत्यक्षमा २ जना मात्र महिला निर्वाचित भएको गण्डकीमा समानुपातिकबाट ३३ प्रतिशत महिला सहभागिता हुने भएको छ । समानुपातिक सांसद आएपछि गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुने भएको हो । संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन् । सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन् । माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन् । दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन् । एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित कोटाबाट छन् । गण्डकीमा आदिवासी जनजाति २४ र खसआर्य ३० जना सांसद जना छन् ।
 


Author

थप समाचार
x