गण्डकी

गण्डकीको मुख्यमन्त्रीका लागि दौडधुप तीव्र

धनबहादुर गुरुङ |
मंसिर २९, २०७९ बिहिवार २०:१२ बजे

पोखरा । गण्डकी प्रदेशमा समानुपातिकको सूची टुंगो लागेसँगै गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदहरु मुख्यमन्त्रीको दौडमा लागेका छन् । गण्डकीमा हालको सत्ता गठबन्धनकै बहुमत पुग्छ । त्यसैले गण्डकी ठूलो पार्टीका हिसाबले कांग्रेसले मुख्यमन्त्रीको दावी गरिरहेको छ । 

२७ सिट जितेको कांग्रेसका ४ नेताहरु आफूलाई मूख्यमन्त्रीको दावी गरिरहेका छन् । यसका लागि कांग्रेसबाट निर्वाचित सांसद सुरेन्द्रराज पाण्डे, विन्दुकुमार थापा, भोजराज अर्याल, महेन्द्रध्वज जिसीलगायतको केन्द्रीय नेतृत्वसँग छलफल गर्न काठमाडौं आउजाउ बढेको छ ।


यीमध्ये पाण्डे गोरखा २ (ख) बाट निर्वाचित पाण्डेले पार्टी सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेट गरिसकेका छन् । पाण्डे कांग्रेस केन्द्रीय सदस्य छन् भने यसअघिको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर कार्यकाल पूरा गरिसकेका छन् । सहमतिबाटै संसदीय दलको नेता चुनिने पाण्डेले बताए । ‘कुनै विवाद छैन । सहमतिबाटै टुंगो लाग्छ,’ उनले भने, ‘केही समय समानुपातिक सांसदका कारणले अल्झिएको हो । सपथलगत्तै सरकार गठनको प्रक्रियामा जान्छौं ।’ 

कास्की २ (ख) बाट निर्वाचित भएपछि थापा केही समय काठमाडौंमा भेटघाट गरेर पोखरा फर्किएका छन् । उनी निरन्तर दलका नेताहरुसँग सम्पर्कमा छन् । ‘पार्टी नेतृत्वसँग छलफल भइरहेको छ । अनुभवका हिसाबले म पनि दलको नेताको लबिइङमा छु,’ उनले भने, ‘तर सहमतिबाटै टुंगो लाग्छ ।’ थापाले एक कार्यकाल प्रदेश सांसद भएर काम गरेका थिए भने बहालवाला मन्त्रीसमेत हुन् । 

नवलपुर १ (क) बाट निर्वाचित जिसी र स्याङ्जा २ (क) बाट विजेता बनेका अर्यालले समेत नेताहरुसँग सम्पर्क र छलफल गरिरहेका छन् । कार्य अनुभवका आधारमा आफूले दलको नेता पाउनुपर्ने अर्यालको तर्क छ । उनी वालिङ नगरको मेयरसमेत भएर काम गरिसकेका व्यक्ति हुन् । भने जिसीले पनि आफूलाई मुख्यमन्त्रीको दावी गरिरहेका छन् । जिसी पूर्व सांसद र कांग्रेस नवलपुरको सभापति हुन् । 

यता, सत्ता गठबन्धनबाटै निर्वाचित भएका माओवादीबाट मुख्यमन्त्रीका दाबेदार हरिबहादुर चुमान काठमाडौं पुगेर फर्किसकेका छन् । ‘नेताहरुले तपाईंकै पालो हो भनेर पठाएका छन् । म ढुक्क छु,’ उनले भने, ‘अघिल्लो पटक कांग्रेसलाई समर्थन गरेका हौं । अहिले कांग्रेसले हामीलाई समर्थन गर्छ ।’ चुमान यसअघिको कार्यकालमा पनि माओवादीको संसदीय दलको नेता थिए । 

एमालेबाट मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका खगराज अधिकारी पनि काठमाडौं आउजाउ गरिरहेका छन् । कास्की १ (क) बाट निर्वाचित उनी एमालेले सरकारको नेतृत्व गर्दा स्वाभाविक मुख्यमन्त्रीका रुपमा हेरिएको छ । संसदीय दलको नेतामा पनि उनी नै निर्वाचित हुने बताइएको छ । 


Author

थप समाचार
x