गण्डकी

गण्डकीमा संसदीय दलको नेता बन्‍न काठमाडौंमा दौडधुप, कुन दलबाट को-को छन् आकांक्षी ?

इकागज |
पुस १, २०७९ शुक्रबार ११:९ बजे

पोखरा - गण्डकी प्रदेशमा सांसद चयनको प्रक्रिया सकिएको छ । अब सबैको ध्यान संसदीय दलको नेता चयनमा केन्द्रित छ ।

पहिलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत नहुने सम्भावना बढेको छ । केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई संसदीय दलको नेताका रूपमा हेरिएको छ । यद्यपि, उनलाई नवलपुरका सभापति महेन्द्रध्वज जिसीले चुनौती दिएका छन् । उनले आफूसँग बहुमत भएकोले प्रतिस्पर्धा गर्ने बताए ।


‘शुक्रराज दाइ नआएपछि म नै दाबेदार हुँ,’ उनले भनेका छन्, ‘मसँग बहुमत छ, चुनाव जित्छु ।’ तर पाण्डे भने सर्वसम्मत रुपमा आफैँ नेता बन्ने बताउँछन् । ‘चुनाव हुँदैन । सर्वसम्मत नेतृत्व चयन हुन्छ,’ उनले भने, ‘म ने संसदीय दलको नेता हुँ ।’

पाण्डे संस्थापन पक्षका हुन् भने जिसी संस्थापनइतर हुन् । त्यसो त संस्थापनबाटै विन्दुकुमार थापाले पनि दलको नेता दाबी गरेका छन् भने इतरबाट अर्का नेता भोजराज अर्यालले दाबी गरेका छन् । यद्यपि, सर्वसम्मतको प्रयास हुने बताइएको छ । 

दोश्रो ठूलो दल नेकपा एमालेमा पनि दलको नेताका रूपमा खगराज अधिकारीलाई हेरिएको छ । उनी संगठन विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन् । पार्टीभित्र उनी सबैभन्दा माथिल्लो पदको नेता छन्, प्रदेश सांसदमध्येमा ।

तर, उनलाई पनि अरु सांसदहरूले चुनौती दिने बुझिएको छ । कास्कीमा खगराज र पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको छुट्टै समूह छ । उक्त समूह प्रदेशसम्म पनि झाँगिएको छ ।

पिएसले संसदीय नेताका लागि अरुलाई अघि सार्न सक्ने धेरैको आंकलन छ । त्यसो हुँदा बागलुङका लिलाबहादुर थापा, कास्कीका भीम कार्कीलगायत नेताहरूको चर्चा छ । यद्यपि उनीहरूले सार्वजनिक रुपमा आफू दलको नेता हुने घोषणा गरेका छैनन् ।

पिएसले यसअघि नै खगराजलाई चुनौती दिँदै निर्वाचनको समयमा लमजुङले पुनः मुख्यमन्त्री पाउन सक्ने बताएका थिए । उनले जमिन्द्रमान घलेलाईअघि सार्ने बुझिएको थियो । तर, घले प्रतिस्पर्धामै पराजित भए । 

माओवादीले हरिबहादुर चुमानलाई दलको नेता बनाउन सक्छ । उनी यसअघि पनि दलको नेता भएर काम गरिसकेका व्यक्ति हुन् । त्यसो त, उनलाई चुनौती दिने नेताहरू पनि खासै निर्वाचित भएका छैनन् । यद्यपि उनी पार्टीभित्र देव गुरुङ समूह निकट मानिन्छन् । उनीविरुद्ध पनि उम्मेदवारी पर्न सक्ने माओवादीकै नेताहरूको दाबी छ । तर प्रतिस्पर्धामा को आउने भन्ने कुनै संकेत गरेका छैनन् ।

माओवादी समानुपातिकसहित ८ सिट जित्दै तेश्रो दल बनेको छ । कांग्रेससँग २७ सिट छ भने एमालेले २२ सिट पाएको छ ।

समानुपातिकबाट संसद्‍मा इन्ट्री गरेको राप्रपासँग २ सिट र एकीकृत समाजवादीको १ सिट छ । मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेपछि उक्त पार्टीलाई शून्य हुनबाट जोगाएका छन् ।

अन्य पार्टीले यहाँ संसदीय दलको नेता पाउँदैनन्, उनीहरूको संसदीय कार्यालय पनि रहने छैन । अहिले संसदीय दलको नेता बन्न सांसदहरूको काठमाडौं दौडधुप बढेको छ । 


Author

थप समाचार
x