गण्डकी

गण्डकीमा सांसदको शपथ कहिले ?

इकागज |
पुस ४, २०७९ सोमबार १८:२६ बजे

पोखरा- प्रतिनिधि सभा सदस्यको शपथ पुष ७ गते गराउने तयारी छ । संविधान अनुसार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेश सभाको पहिलो बैठक आह्वान गर्नुपर्ने प्रावधान छ ।

निर्वाचन आयोगले मंसिर २८ गते अन्तिम नतिजा सार्वजनिक गरेको छ । पुस १८ भित्रै पहिलो संसद् बैठक बस्नुपर्छ । त्यसअघि नै शपथ गराउनुपर्ने व्यवस्था छ । 


तर, गण्डकीमा सांसदको शपथ ग्रहणबारे कुनै प्रक्रिया नै सुरु भएको छैन । संघीय संसदको शपथ पछि मात्रै प्रदेशमा तयारी हुने बताइएको छ । प्रदेश प्रमुखको कार्यालयका कर्मचारीका अनुसार प्रदेश प्रमुख केन्द्रसँग निरन्तर छलफलमा छन् ।

‘उहाँले छलफल गरिरहनु भएको छ । माथिको शपथ सकिएपछि प्रदेशमा गर्ने कुरा छ,’ एक कर्मचारीले भने, ‘माथिबाट सबै प्रदेशमा एकै पटक शपथ गराउने कुरा सुनिएको छ । सम्भवतः ११ गतेतिर हुन सक्छ ।’

प्रदेशको आफ्नै संरचना भए पनि शपथ समेत केन्द्रको आग्रह अनुसार गराउनुपर्ने अवस्था छ । त्यसपछि सरकार गठन पनि केन्द्रीय नेतृत्वको हातमा निहित छ । ६० सांसदमध्ये प्रदेश प्रमुखले जेष्ठ सांसदलाई शपथ गराउने र उनले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । गण्डकीमा निर्वाचित ३६ र समानुपातिक २४ सांसद मध्ये पर्वत (ख) बाट निर्वाचित भएका मित्रलाल बस्याल सबैभन्दा जेष्ठ सांसद हुन् । उनी ६५ वर्षका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सबैभन्दा पहिले बस्याललाई शपथ गराउने छन् । त्यसपछि बस्यालले ५९ सांसदलाई शपथ खुवाउँछन् । 

शनिबार गण्डकीमा निर्वाचित सबै सांसदको सूचीसहित निर्वाचनको अन्तिम प्रतिवेदन निर्वाचन आयोगले प्रदेश प्रमुखलाई बुझाएको छ । आयुक्त इश्वरीप्रसाद पौडेलले प्रतिवेदन बुझाएका हुन् ।

पहिलो बैठक बसेपछि सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुन्छ भने सरकार गठनको बाटो पनि खुल्छ ।


Author

थप समाचार
x