गण्डकी

गण्डकी प्रदेशका तीन सांसदलाई कोभिड पुष्टि : बोल्न नपाउने, भोट हाल्न पाउने

इकागज |
बैशाख १५, २०७८ बुधवार ९:२८ बजे

पोखरा : गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रदेशसभाका एक सांसदका अनुसार स्वास्थ्य निर्देशनालयले तीन जना सांसदलाई संक्रमण देखिएको बताएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोदविन्दु शर्माले तीन जना सांसदमा कोभिड १९ देखिएको पुष्टि गरे । कोभिड पोजिटिभ देखिनेहरूमा एमालेका राजिव पहारी, कांग्रेसकी मनकुमारी गुरुङ र एमालेकी प्रभा कोइराला रहेका छन् । यस्तै प्रदेशसभाका दुई जना कर्मचारीलाई पनि कोभिड १९ संक्रमण पुष्टि भएको छ । 


गण्डकी प्रदेश सभाको मंगलबारको बैठक अवरुद्ध भएपछि सांसदहरुको कोभिड–१९ परीक्षण गरिएको थियो । बैठकमा एमाले सांसदहरुले परीक्षण नगरी संसद राखिएको भन्दै बैठक चल्न दिएका थिएनन् । विशेष अधिवेशनको पहिलो दिन सोमबार एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पीसीआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए ।

सभामुखले बैठक स्थगित गरेपछि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले सांसदहरुको मंगलबार नै कोभिड–१९ परीक्षण गर्ने निर्णय गरेको थियो । परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी समितिले निर्णय गरेको हो । 

बुधबार सांसदहरुको कोभिड–१९ परीक्षणको नतिजा आएपछि दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक डाकिएको छ । मंगलबार एमाले सांसदहरुले बैठकको सुरुमै उठेर आपत्ति जनाएका थिए । सांसद राजीव पहारीले कोरोना परीक्षणबिना बैठक राख्न नहुने बताएपछि सबै एमाले सांसदले उठेर आपत्ति जनाएका थिए ।

त्यसलगत्तै बसेको कार्यव्यवस्था समितिको बैठकले सबै सांसदको कोभिड १९ परीक्षण गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गरेका थिए ।
 


Author

थप समाचार
x