गण्डकी

पोखरा महानगरले सडक पार्किङको ठेक्का तोड्यो

धनबहादुर गुरुङ |
पुस ८, २०७९ शुक्रबार २०:५० बजे

पोखरा- पोखरा महानगरको मुख्य बजार क्षेत्रमा सवारी पार्किङ गरेको शुल्क लाग्छ । सडकमा सवारी रोके बापत सर्वसाधरणले पैसा तिर्दै आएका छन् । फेवा सावित्री जेभीसँग २०७७ मंसिर १४ गते २ वर्षका लागि पार्किङ शुल्क उठाउने सम्झौता गरेपछि सर्वसाधरणले दैनिक पार्किङ शुल्क तिर्दै आएका थिए ।

महानगरले फेवा सावित्रीसँग गरेको सम्झौता मंसिर २७ गतेदेखि सकिनुपर्ने हो । तर, कोरोनाकाे कारण देखाउँदै पूर्व मेयर मानबहादुर जिसीले जाँदाजाँदै फेरि सुटुक्क चार महिना म्याद थपिदिएका थिए । २०७९ वैशाख २२ गते म्याद थपेर चैत मसान्तसम्म शुल्क उठाउन छुट दिएको थियो । तर, महानगरको शुक्रबार बसेको कार्यपालिका बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो ।


ठेक्का रद्द भए पनि महानगरले फेवासँग अझै १ करोड ९० लाख रुपैयाँ उठाउन बाँकी छ । महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाका अनुसार बारम्बार ताकेता गर्दा पनि बक्यौता नउठेपछि ठेक्का रद्द गर्न निर्णय भएको हो । उनका अनुसार फेवा सावित्री जेभिले महानगरलाई तीन किस्ता बुझाउन बाँकी छ ।

‘अन्तिम किस्ता मंसिरसम्म तिर्नुपर्ने थियो । पटक-पटक ताकेता गर्दा पनि नआएको हुनाले ठेक्का तोडियो,' उनले भने । अब बैंक ग्यारेन्टी जफत गरिने उनले बताए । शनिबारदेखि फेवा सावित्री जेभिले सडकमा सवारी पार्किङ गरेबापतको शुल्क उठाउन पाउने छैन ।

महानगरपालिकाको कोर एरियाको सडकमा पार्किङ निषेध गर्ने निर्णय भएको छ । यसका लागि महानगरले सार्वजनिक जग्गा र खाली जग्गामा पार्किङ गराउन सम्याउने काम गरिसकेको छ । अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङमा भने शुल्क लाग्नेछ । यस सम्बन्धमा मापदण्ड तोकी उपयुक्त शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, शुक्रबारको बैठकले पोखराको लामेआहालमा अस्थायी प्रयोजनका लागि ल्याण्डफिल्ड साइट व्यवस्था गर्ने निर्णय पनि गरिएको छ । साइटको व्यवस्थापन गर्न महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको प्रवक्ता तिम्सिनाले बताए । महानगरका अनुसार प्रशोधन केन्द्रसहितको ल्याण्डफिल्डका लागि स्थान छनोट गरी अध्ययन समितिलाई सिफारिस गरिएको छ ।


Author

थप समाचार
x