गण्डकी

सुरु भयो 'पोखरा सडक महोत्सव' (फोटो फिचर)

धनबहादुर गुरुङ |
पुस १३, २०७९ बुधवार १७:५२ बजे

पोखरा । पोखरा सडक महोत्सवको २४ औं संस्करण बुधबारदेखि सुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान)को आयोजनामा अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेकसाइडमा ‘पोखरा सडक महोत्सव’ भएको हो ।

महोत्सवको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरे । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ फेवाताल किनार कोमागाने पार्कमा उद्घाटन गरिएको महोत्सव पुस १७ गतेसम्म हुनेछ । 


महोत्सवअघि पोखराको खहरे चोकबाट महोत्सव स्थलसम्म झाँकीसहितको र्‍याली निकालिएको थियो । उक्त ¥यालीमा विभिन्न जातजाति र संघसंस्थाको उपस्थिति थियो । महोत्सव पोखराको सहिदचोकदेखि खहरे–डिहिकोपाटनसम्मको करीब ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुनेछ । पर्यटन क्षेत्रको विकास गर्दै पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा बिकास गर्ने मूल लक्ष्यसहित महोत्सव आयोजना गरिएको रेबान पोखराका अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । 

पाँच दिनसम्म हुने महोत्सवमा विभिन्न कार्यक्रम प्रतियोगिता र मनोरञ्जनका कार्यक्रम हुनेछ । महोत्सवको प्रतियोगिता अन्तरगत चिल्ली बारमा पुष १४ गते वेटर-वेट्रेस दौड प्रतियोगिता, १५ गते फेवातालमा डुङ्गा दौड प्रतियोगिता, र १६ गते गौरीघाटमा टग अफ वार प्रतियोगिता आयोजना गरिने संयोजक भट्टराईले जानकारी दिए । उनका अनुसार दिउँसो दोहारी गीतका कलाकार र राति पप, र्‍याप तथा व्याण्डका कलाकारको प्रस्तुति हुनेछ । 


Author

थप समाचार
x