गण्डकी

गण्डकी प्रदेश : सरकार बनाउन दलको सक्रियता

इकागज |
पुस २२, २०७९ शुक्रबार २१:५१ बजे

गण्डकी- गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि सोमबार बेलुका चार बजेसम्मको समय दिएका छन् ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । केन्द्रीय समीकरण तलमाथि नभएका खण्डमा सोही गठबन्धनले प्रदेश सरकार बनाउनेछ ।


सत्ता गठबन्धनबाट नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने लगभग पक्का छ । प्रदेशसभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा (माओवादी केन्द्र)को आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । 

प्रदेशसभामा रहेका कूल ६० सदस्यमध्ये सरकार गठनका लागि ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । एक सदस्य रहेको एकीकृत समाजवादीको समेत समर्थन लिन सके गठबन्धनलाई सहज बहुमत पुग्न सक्छ । 

सत्ता समीकरणमा कुनै नाटकीय फेरबदल आएमा भने नेपाली कांग्रेसले पनि सरकार बनाउन सक्ने सम्भावनालाई नकार्न सकिन्न । २७ सिट रहेको कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । सरकारको नेतृत्व लिन तम्तयार रहेको कांग्रेसलाई नयाँ गठबन्धन बनेसँगै एकाएक प्रतिपक्षमा बस्नुपर्ने स्थिति आइलागेको छ ।

एमाले ससंदीय दलका नेता अधिकारीले गठबन्धन दलहरूबीच सरकार गठनबारे छलफल सुरु भएको बताए । 'केन्द्रमा सरकार बनाउन सहयोग पुर्‍याएका दलहरूबीच सरसल्लाह र परामर्श गरेर अघि बढ्छौँ,' उनले भने, 'सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय सीमाभित्रै बहुमत जुटाएर हामी दाबी पेश गर्छौं ।'

उनले सरकार आह्वान ढिलो गरी भएको र समय पनि कम दिइएकाले दलहरूबीचको छलफललाई छिटो टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राखे ।

गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरू केन्द्रको निर्णयको पर्खाइमा रहेको बताए । 'केन्द्रदेखि प्रदेशसम्मको शक्ति बाँडफाँटबारे केन्द्रीय गठबन्धनमा जे टुङ्गो लाग्छ, त्यहीअनुसार गण्डकीको कोर्स पनि अघि बढ्छ,' उनले भने, 'प्रदेश तहमा पनि एमालेलगायत दलहरूसँग हाम्रो भेटघाट, छलफल चलिरहेको छ, उहाँहरू पनि केन्द्रको निर्णय के आउँछ भनेर पर्खिरहनुभएको छ, हामी पनि त्यसकै पर्खाइमा छौँ ।'

कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले नयाँ गठबन्धनकै सरकार बन्ने स्थिति देखिएकाले आफूहरू सशक्त प्रतिपक्षको भूमिकामा रहने बताए । 'नयाँ बनेको गठबन्धन तलमाथि भएको खण्डमा त कांग्रेसले सरकारको नेतृत्वका लागि पहलकदमी लिन्छ,' उनले भने, 'अहिलेकै परिस्थितिमा कांग्रेसलाई सरकार बनाउनका लागि तदारुकता लिनुपर्ने आवश्यकता छैन, हामीले खास चासो पनि दिएका छैनौँ ।'

राप्रपाले गठबन्धन छाडेर कांग्रेससँग आएमा गण्डकीमा पनि नयाँ परिस्थिति बन्न सक्ने उनको भनाइ छ । प्रदेशसभाको सबैभन्दा ठूलो दललाई पन्छाएर नयाँ गठबन्धनमार्फत एमाले पुनः सत्ताको नजिक आइपुगेको छ । तत्कालीन नेकपा विभाजनका कारण डेढ वर्षअघि एमाले प्रदेश सरकारको नेतृत्वबाट बाहिरिएको थियो ।

गण्डकीको सत्ता राजनीतिले नयाँ मोड लिएसँगै प्रदेश सरकारको तेस्रो मुख्यमन्त्रीका लागि दिनगिन्ती सुरु भएको छ । कुनै पनि दलले बहुमत प्राप्त नगरेको स्थितिमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन हुनेछ । रासस


Author

थप समाचार
x