गण्डकी

गण्डकीका मुख्यमन्त्री अधिकारीको यस्तो छ राजनीतिक पृष्ठभूमि

धनबहादुर गुरुङ |
पुस २५, २०७९ सोमबार २१:१७ बजे

पोखरा- कास्कीको वेगनासमा २०१८ साल चैत १३ गते जन्मिएका खगराज अधिकारी ११ वर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय थिए ।

गाउँकै आनन्द ज्योति माध्यमिक विद्यालयका वामपन्थी विचारका शिक्षकबाट प्रभावित भएर उनी राजनीतिमा होमिएका थिए । निमावि पढ्दै गर्दा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को सभापति बनेर राजनीतिक यात्रा थालेका अधिकारीले त्यसबीचमा धेरै संघर्ष झेल्नुपर्‍यो ।


२०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै उनी सक्रिय राजनीतिमा देखा परे । २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बने । उनी स्ववियु सभापतिलाई राजनीतिको टर्निङ प्वाइन्ट मान्छन् । उनले नेपालीमा स्नातकोत्तर गरेका छन् ।

पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताउनुपर्‍यो । अविछिन्न सुसंस्कृत तथा समृद्ध समाजको निर्माणमा लागिरहेका अधिकारीले २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पनि अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रशासनले अधिकारीको यो नेतृत्वलाई सहेन, उनलाई पक्राउ गर्‍यो र जेल हाल्यो । यसबाहेक उनले पार्टीको विभिन्न तहमा रहेर पनि पार्टीलाई बलियो बनाउन संघर्ष गरिरहे ।

अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखि ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए । एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र पोलिटब्युरो सदस्य समेत बने । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित उनी एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए । २०७८ साल मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित अधिकारी नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।

कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै २०५१ सालमा पहिलोपटक कास्की क्षेत्र १ बाट प्रतिनिधिसभा सांसद बने । उनी २०५६ र २०६४ सालको निर्वाचनमा पराजित भए ।

२०७० सालमा कास्की १ बाटै निर्वाचित भएपछि मन्त्री समेत भए । २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्यमन्त्री भएर काम गरे । देश प्रादेशिक संरचनामा भएपछि २०७४ सालको प्रतिनिधि सभामा कास्की १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित हुँदै केपी ओली प्रधानमन्त्रीको पालामा उनी २ साताका लागि गृहमन्त्री नियुक्त भएका थिए ।

२०७९ को ४ मंसिरको चुनावमा निर्वाचनमा प्रदेश झरेका अधिकारीले कास्की क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्रीको बाटो खोलेका हुन् । सादा राजनीतिक जीवन, कार्यकर्तामा अत्यन्तै सरल रूपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरू विकासप्रेमी नेताका रूपमा लिने गर्दछन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । भने, पद तथा गोपनीयताको शपथ पनि सोमबार नै लिएका छन् । शपथ ग्रहण लगत्तै नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार पनि ग्रहण गरेका छन् । 


 


Author

थप समाचार
x