गण्डकी

गण्डकीमा बिनाविभागीय मन्त्रीले पाएनन् मन्त्रालय, मन्त्रिमण्डल विस्तारमा ढिलाइ

धनबहादुर गुरुङ |
माघ ५, २०७९ बिहीबार १४:३६ बजे

पोखरा- मुख्यमन्त्री भागबण्डापश्चात् नेकपा एमालेको भागमा परेको गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएर शपथ लिएको एक हप्ताभन्दा बढी भयो । पुस २५ गते शपथ लिएका उनले अहिलेसम्म मन्त्रिमण्डल विस्तार गरेका छैनन् । त्योसँगै आफू मुख्यमन्त्री हुँदा बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएकाहरूले पनि मन्त्रालयको जिम्मा पाएका छैनन् ।

एमाले, माओवादी केन्द्र र राप्रपाबाट मन्त्री बनेका १/१ जनाले त्यतिबेला बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका थिए । शपथलगत्तै गाडी, चालक र सुरक्षाकर्मी तत्कालै पाए ।


एक साताभन्दा बढी भइसक्यो मुख्यमन्त्री अधिकारीले उनीहरूलाई जिम्मेवारी दिन सकेका छैनन् । न त मन्त्रिमण्डल विस्तार नै गरेका छन् । जसका कारण प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको छ । लामो समयसम्म मन्त्रालयको जिम्मा नपाएकाले अप्ठेरो परेको बिनाविभागीय मन्त्रीहरू बताउँछन् ।

‘कार्यक्रम हुँदा त बाहिर जाने गरेको छु । मन्त्रालय गयो बस्ने ठाउँ छैन,' राप्रपाबाट मन्त्री बनेका पञ्चराम गुरुङले भने, ​'सारै अप्ठेरो परेको छ, छिटो टुंगो लगाइदिए हुन्थ्यो झैं भएको छ ।’

मन्त्रालयको टुंगो नलाग्दा सरकारी निवास खाली भएर पनि मन्त्रीहरू बाहिर बस्न बाध्य छन् । बिनाविभागीय मन्त्रीसँगै प्रवक्ताको जिम्मेवारी पाएकी सीता सुन्दास अहिले होटलमा बसिरहेको । मन्त्री सुन्दासका स्वकीय सचिव उत्तम परियारले जानकारी दिए ।

उनले भने, ‘हाम्रो समस्या पनि पञ्चराम माननीयको जस्तै हो । हामी त झन् होटलमा बस्नु परेको छ ।’

मन्त्रालयको टुंगो लागेपछि मात्र सरकारी निवास दिन सजिलो हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारी बताउँछन् ।

अर्का मन्त्री हरिबहादुर चुमान मासबारस्थित डेरामा बस्दै आएका छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका मन्त्री हरिबहादुर चुमान मन्त्रालय कति वटा बन्ने टुंगो नलागेसम्म जिम्मेवारी पाइने छनक नरहेको बताउँछन् । मुख्यमन्त्री अधिकारी भने बुधबार बिहान मात्र सरकारी निवास सरेका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिनु अगाडिदेखि नै मन्त्रालय घटाउने विषयलाई प्राथमिकतामा राख्दै आएको बताएका छन् । ९ वटा मन्त्रालय हुँदा गठबन्धनका दललाई पनि भाग पुग्ने भएकाले त्यसै अनुसारको आन्तरिक तयारीमा उनी लागेका छन् । मन्त्रालयको संख्या कति बनाउने भन्ने निर्क्यौल भएपछि मन्त्रिमण्डल विस्तार हुने र आफूहरूले मन्त्रालयको जिम्मा पाउने मन्त्री चुमानको आकलन छ ।


Author

थप समाचार
x