गण्डकी

खेल चलिरहँदा हेलिकप्टर मैदानमा ल्याण्ड भएपछि...

धनबहादुर गुरुङ |
माघ ५, २०७९ बिहीबार २०:४४ बजे

तस्बिर : गोलनेपाल

पोखरा- खेलको पहिलो हाफ चलिरहेको थियो । खेलको ३५ मिनेटतिर हेलिकप्टरको चर्को आवाज आयो । अचानक पूर्वतिरबाट आएको प्रभु हेलिकोप्टर खेल मैदानको पश्चिमतर्फ लाग्यो अनि केही समयपछि फर्केर खेल मैदानमै ल्याण्ड गर्यो ।

यो दृष्यले सबैलाई चकित बनायो । कसैलाई डर पनि लाग्यो आइतबार मात्र पोखरामा भएको जहाज दुर्घटना धेरैको मनसपटलमा छायो । केही आत्तिए । आयोजकले आकस्मिक अवतरणको आकलन गरे । तर, प्रभुको ९ एन–एएलएक्स विमान खेल मैदानमै अवतरण गरेपछि पाइलट झरे अनि प्यासेन्जरको ढोका खोलेपछि उनीहरू पनि निस्किए ।


यो स्याङ्जाको वालिङ नगरपालिकास्थित मालेबगर खेल मैदान भएको घटना हो । यहाँ प्रथम वालिङ गोल्डकप चलिरहेको छ । बिहीबार दोस्रो वालिङ रातो र क्यामरुनी टोली एभिनियरबीच दोस्रो सेमिफाइनल खेल थियो । बिना कुनै सूचना अवतरण भएको हेलि दर्शकले के होला भनेर हेरिरहे । आयोजकलाई थाहा भयो कि हेलिमा चढ्नेहरू वालिङ कै रहेछन् ।

खासमा वालिङ नगरपालिका–९ का युवाले हेलिकोप्टर चार्टर्ड गरेर वालिङ लगेका रहेछन् । अनि उनीहरूकै आग्रहमा पाइलट रमेश डंगोललाई खेल चलिरहेको मैदानमा ल्याण्ड बाध्य पारिएको रहेछ । यो चाल पाएपछि आयोजक र खेलाडीहरू आक्रोशित बने । उनीहरूले क्याप्टेन डंगोलमाथि हातपात गरे । स्थानीयको कुटाइबाट क्याप्टेन डंगोलको नाक र मुख चोट लाग्यो । केहीले यात्रुहरूलाई पनि कुट्न थाले केही समयपछि पाइटल डंगोलले हेलि उडाएर पोखरा ल्याए ।

पाइलट डंगोलले यात्रुको आग्रहमा बाध्य भएर खेल मैदानमै हेलिकोप्टर अवतरण गरेको जवाफ दिएको क्लबका अध्यक्ष ज्वारचनले बताए । खेल हुँदाहुँदैको मैदानमा हेलिकोप्टर झार्नु गम्भीर लापरबाही भएको उनको भनाइ छ ।

‘पहिलो हाफको खेल चलिरहेको थियो, अचानक हेलिकोप्टर आएर बस्यो,’ आयोजक वालिङ युवा क्लबका अध्यक्ष एलबी ज्वारचनले भने, ‘खेल भइरहेका बेला मैदानबीचमा ल्याण्ड गर्दियो । खेलाडीहरू आफैँ साइड लागे । यो यात्रु अनि पाइलटको ठूलो गल्ती हो । धन्न केही भएन ।’

हेलि ल्याउनेसँग यसबारेमा छलफल गर्न खोजे पनि मादकपदार्थ सेवन गरेकाले सम्भव नभएको उनले बताए ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले खेलकुद चलिरहेकै अवस्थामा बिनाअनुमति बिनासूचना हेलिकप्टर ल्याण्ड गरिएको बताए ।

‘हेलिकप्टर जाँदा केका लागि को आउँदैछ भन्ने जानकारी पनि हुनुपर्ने हो तर केही भएन,’ उनले भने, ‘खेल चलिरहेकै अवस्थामा ल्याण्ड गरिँदा धन्न मानवीय क्षति भएन ।’

यस विषयमा नागरिक उड्डयन कार्यालय पोखरालाई कारबाहीको लागि पत्राचार गरिएको सुनाए । ‘बिनासूचना बिनाजानकारी आएको छ भने मैले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेको छु,’ उनले भने, ‘हेलिकप्टरमा आएका यात्रुहरूलाई के कारण र किन अवतरण गर्नुपर्‍यो भनेर अनुसन्धान गर्नु भनेर वडा प्रहरी कार्यालय वालिङलाई भनिसकिएको छ ।’


Author

थप समाचार
x