गण्डकी

पोखराको मुख्य सडकमा पार्किङ खुला गर्दै सशुल्क पार्किङ उद्घाटन

धनबहादुर गुरुङ |
माघ २३, २०७९ सोमवार २०:५३ बजे

पोखरा- माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले मुख्य बजार र सडकमा पार्किङ गर्न नपाउने निर्णय गर्‍यो । पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडक खण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको भन्दै माघ २३ गतेदेखि पूर्ण रूपमा निषेध गर्ने निर्णय गरिएको थियो । सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई हटाउने महानगरले योजना बनाएको हो ।

तर, कुनै तयारी भने थिएन । सूचना जारी गरेको भोलि पल्टदेखि नै पोखरा महानगरपालिका यातायात व्यवस्थापन समिति तयारीमा जुट्यो । समितिले अण्डरग्राउण्ड खाली गर्नदेखि व्यक्तिगत र सार्वजनिक जग्गामा पार्किङका लागि स्थान खोज्न थाल्यो । समितिले करिब ४ दिनसम्म निरीक्षण गर्‍यो । २३ गतेदेखि पार्किङ निषेध गर्नका लागि अण्डरग्राउण्ड, सार्वजनिक र खाली रहेका व्यक्तिका जग्गामा पर्याप्त स्थान पुग्छ भन्ने निचोडमा पुगेको थियो ।


त्यही बीचमा बिनाअध्ययन र सल्लाह महानगरले सूचना जारी गरेको भन्दै विभिन्न संघसंस्थाले दबाब सिर्जना गर्न थाले । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघ संस्था तथा सरोकारवालाहरूको व्यापक दबाब आएपछि महानगर सोच्न बाध्य भयो ।

सोही अनुसार माघ २३ को अघिल्लो दिन आइतबार एक सूचना जारी गर्दै महानगर आफ्नै निर्णयबाट पछि हट्यो । पार्किङ निषेधको निर्णयलाई सरोकारवालाहरूसँग व्यापक छलफल गरी आगामी योजना तय गरिने सूचना मार्फत महानगरले जानकारी दियो ।

तर, सोही सूचना जारी गरेको भोलि पल्ट सोमबार बिहानै महानगरले पार्किङ निषेधको सुरुवात स्वरूप सशुल्क पार्किङको उद्घाटन गरेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्यूरोडस्थित पुरानो पूर्णिमा हल भत्काएर बनाइएको स्थानमा सशुल्क पार्किङ स्थलका उद्घाटन गरेका हुन् ।  

पार्किङ स्थलकाे उद्घाटन गर्दै मेयर आचार्यले सुन्दर र व्यवस्थित पोखरा निर्माणमा जुटेको भन्दै स्थानीयलाई पार्किङ नियमको पालना गर्न अनुरोध गरेका छन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधनहरू राख्ने दिनहरू अब सकिँदै गएको बताए । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उनले सडक पार्किङका लागि अब टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताएका हुन् ।

महानगरपालिकाले पार्किङका लागि व्यवस्थापन गरेका स्थानहरूमा ५ सय बढी साना सवारीहरू र ४ सय बढी मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गर्न सक्ने क्षमता रहेको प्रमुख आचार्यले जानकारी दिए । विवरण अनुसार पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्र पुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा २५० गाडी र ३५० मोटरसाइकलहरू पार्किङ गरेको पाइएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका नेकपा एमाले दलकी नेता एवं वडा नं.१७ की वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले सडकमा हुने पार्किङ व्यवस्थापन गर्ने महानगरको अभियानमा साथ दिन सम्बन्धित सबै सरोकारवालाहरूलाई आग्रह गरिन् । पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले सुन्दर पोखरा निर्माणको अभियान पोखरा ९ बाटै शुभारम्भ गरिएको बताए । 

महानगरले खाली रहेका सार्वजनिक तथा व्यक्तिका जग्गा र अण्डर ग्राउण्डमा पार्किङ गर्ने बताएको हो । ती स्थानहरूमा सशुल्क पार्किङ गर्ने र त्यसका लागि महानगर आफैँले शुल्क निर्धारण गरेको छ । जस अनुसार २ पांग्रे सवारीका लागि प्रतिघण्टा पार्किङ शुल्क १० रुपैयाँ तोकेको हो । त्यस्तै, चार पांग्रेको हलुका सवारीको प्रतिघण्टा ५० र मझौलाको ७० रुपैयाँ तोकेको थियो ।

महानगरले पार्किङ व्यवस्था गर्ने बताए पनि उसले शुल्कमात्रै निर्धारण गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई छाडिदिएको हो । तर, पोखरा महानगरले तोकेको शुल्कको भने आलोचना हुन थालेको छ । सो शुल्क अनुसार अफिसियल कामका लागि पार्किङ गर्दा दैनिक ६ घण्टाको ६० रुपैयाँ बुझाउनुपर्ने हुन्छ । 


 


Author

थप समाचार
x