गण्डकी

बिनालाइसेन्स स्कुटर चलाउँदा वडासदस्य जेल चलान

धनबहादुर गुरुङ |
माघ २५, २०७९ बुधवार १५:१७ बजे

फाइल तस्बिर

पोखरा- पोखरा महानगरपालिका वडा नं ३३ की वडासदस्य लीलादेवी नेपाली बिनालाइसेन्स स्कुटर चलाउँदा जेल चलान भएकी छिन् । उनले हाँकेको स्कुटर पुस १३ गते तनहुँको शुक्लगण्डकी नगरपालिका २ हलेदीमा दुर्घटनामा परेको थियो ।

तनहुँबाट आफ्नी आमालाई लिएर पोखरा ल्याउँदै गर्दा उक्त स्थानमा ट्रिपरले लिलाको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी उनकी आमाको उपचारका क्रममा पुस १७ गते मृत्यु भयो । लीलाकी आमाको मृत्युपछि प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानबाट स्कुटर चलाएकी वडासदस्य लीलासँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको पाइएपछि माघ ८ गते उनलाई पक्राउ गरी थप प्रक्रिया अघि बढाइएको थियो । 


सवारी चालक अनुमतिपत्र नभएका कारण ट्रिपर चालकसँगै लीलाविरुद्ध पनि मुद्दा चल्यो । अन्ततः माघ १२ गते वडासदस्य लीला र दुर्घटना गराउने ट्रिपर चालक तिलक श्रेष्ठलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो । 

यसरी बिनालाइसेन्स सवारी चलाउँदा साउन १ गते यता गण्डकी प्रदेशभर २४ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा बिनालाइसेन्स चलाउने चालक र सवारी धनी बढी कारबाहीको भागीदार हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीका सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘सबैभन्दा ठूलो गल्ती सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेको हुन्छ,’ उनले भने । त्यो भन्दा पनि ठूलो गल्ती भनेको लाइसेन्स नभएकालाई सवारी चलाउन दिनेको हुने उनले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ सवारी ज्यान अनुसार दुर्घटनामा जरिवाना र सजायको व्यवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रकाश शाहले बताए । उक्त दफामा ३ किसिमका जरिवाना वा सजाय भए पनि लाइसेन्स नभएका हकमा थप कारबाही हुने उनको भनाइ छ ।

‘मनसाय प्रेरित, लापरबाहीयुक्त र भवितव्य गरी ३ किसिमको सवारी ज्यान हुन्छ । घाइतेको हकमा दफा १६२ मा अंगभंगसम्बन्धी उल्लेख छ । सोही अनुसार सजाय हुन्छ,’ उनले भने, ‘यसमा जन्मकैददेखि १ लाखसम्म जरिवाना हुन्छ । यदि लाइसेन्स नभएकाले चलाएमा जन्मकैद र तोकिएको जरिवानामा थप २ हजारसम्म तिर्नुपर्छ ।’

कतिपय अवस्थामा ठक्कर खाएको सवारीका चालक र ठक्कर दिने सवारीको चालक प्रतिवादी बनाएर अदालतले गर्ने निर्णयमा पनि सजाय र जरिवाना भर पर्ने उनको भनाइ थियो ।

गण्डकी प्रदेशमा यो आर्थिक वर्षको माघ तेस्रो सातासम्म २ सय १७ सवारी दुर्घटना परी ९३ जनाको मृत्यु भएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीले जनाएको छ । जसमा ६६ पुरुष, २१ महिला र ६ जना बालबालिका छन् ।


Author

थप समाचार
x