गण्डकी

नवनियुक्त प्रदेश प्रमुख भन्छिन्ः अविश्‍वास प्रस्ताव निष्‍क्रिय जस्तै, सभामुखको राजीनामा माग्‍ने घडी आइसक्यो

अनिष भट्टराई |
बैशाख २२, २०७८ बुधवार १३:९ बजे

प्रदेश प्रमुख सीता पौडेल । तस्बिरः युनिश गुरुङ

पोखरा : गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार सम्हालेकी छन् । प्रदेश प्रमुखको कार्यालयमा उनले आज बिहान ११ बजे पदभार सम्हालेकी हुन् । पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् । 

सरकारले सोमबार अमिक शेरचनलाई हटाएर पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । माओवादी निकट शेरचनलाई अपदस्थ गरेर एमाले निकट पौडेललाई पद दिइएको हो । 


एमाले निकट प्रदेश प्रमुख आएपछि प्रदेश सभाका विपक्षीमा विशेष अधिवेशननै अन्त्य गरिदिने आशंका उत्‍पन्‍न भएको छ । विपक्षी नेता हरिबहादुर चुमानले विशेष अधिवेशनलाई अन्त्य गर्ने नियतले प्रदेश प्रमुख फेरिएको टिप्पणी गरेका थिए । 

आज पदभार ग्रहण गरेकी पौडेलले पनि यसको छनक पनि दिएकी छन् । इकागजसँगको वार्तामा उनले प्रदेश सभाको गतिरोधको मुख्य जिम्मेवार विपक्षी दल भएकाे उल्लेख गर्दै सभामुखले राजीनामा दिनुपर्ने बताइन् । 

गण्डकी प्रदेश सभा १५ वैशाखमा अनिश्तिकालका लागि स्थगित भएपछि बस्न सकेको छैन । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही हराएको भन्दै दलकी सचेतक पियारी थापाले निवेदन दिएपछि सभामुखले छलफलबिनै बैठक स्थगित गरिदिएका थिए । अहिलेसम्म प्रदेश सभा कसरी अघि बढ्ने भन्नेबारे निर्क्याैल  हुन सकेको छैन । 

यो अवस्था आउनुमा सभामुखको दोष रहेको प्रदेश प्रमुख पौडेल बताउँछिन् । प्रदेश प्रमुख पौडेल सभामुखले छलफल गरेर बैठक स्थगित गरेको भए गतिरोध नआउने  बताउँछिन् । ‘कम्तीमा पनि मिलाउनु पर्‍यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि,’ पौडेलले भनिन् । 

सत्तारुढ एमालेले सभामुखको राजीनामा माग्नुपर्ने बेला आएको उनको भनाइ छ । एमाले सांसदहरू सभामुखले राजीनामा दिएर सदनलाई निकास दिनुपर्ने बताउँदै आएका छन् । पौडेल पनि सभामुखले समस्या ल्याएकाले राजीनामा माग्नुपर्ने बताउँछिन् । ‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु पर्‍यो,’ पौडेलले भनिन् । 

हठात्मा अनिश्चितकालका लागि सभामुखले बैठक स्थगित गर्नुपरेको कारण आफूले बुझ्न नसकेको उनले बताइन् । ‘सरकारलाई थाहा नदिइकिन कसैलाई थाहा नदिइ के त्यस्तो घडी पर्‍यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम गर्नुभयो ?’ उनको प्रश्न छ । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध सदनमा टेबुल भएको अविश्वास प्रस्ताव अब निश्क्रिय जस्तै भएको उनले बताइन् । टेबुल भएर मतदानका लागि कार्यसूचीमै चढिसकेको प्रस्तावमा छलफल नभई अनिश्चितका लागि बैठक स्थगित भएपछि अविश्वास प्रस्ताव अब निश्क्रिय जस्तो भएको उनको तर्क थियो । ‘नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ नि त,’ प्रदेश प्रमुख पौडेलले भनिन्, ‘छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ?’

सदनमा देखिएको गतिरोधमा विपक्षीको पनि हात रहेको उनले बताइन् । सदन अवरुद्ध हुने काम सत्तारुढ दलले नगरेको र अहिले पनि सत्तारुढ दल निरन्तरता दिने पक्षमै रहेको उनले जनाइन् । ‘गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै गर्‍यो । सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौं भन्ने पक्षमै छ नि,’ उनले भनिन् । 

आफूले संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने बताइन् । प्रदेश सभाको गतिरोध रोक्न समन्वय थाल्ने उनले बताइन् । ‘सदनमा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु,’ उनले भनिन् ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x