गण्डकी

कार्य सम्पादन मूल्यांकनमा बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट

इकागज |
फागुन २०, २०७९ शनिबार २१:५० बजे

गलकोट- बागलुङ जिल्लाका १० पालिकामध्ये कार्य सम्पादनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हालै सार्वजनिक प्रतिवेदनअनुसार कार्य सम्पादन मूल्याङ्कनमा बागलुङको जैमिनी नगरपालिका उत्कृष्ट भएको छ । 

आयोगले आर्थिक वर्ष २०८०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन मूल्याङ्कनमा जैमिनी नगरपालिका उत्कृष्ट भएको हो । आयोगले स्थानीय तहले प्रविष्ठ गरेको विभिन्न १७ वटा सूचकाङ्कका आधारमा जिल्लाका १० पालिकामध्ये जैमिनी नगरपालिकाले सबैभन्दा बढी अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जैमिनी नगरपालिकाले ६७ दशमलब ७३ अङ्क प्राप्त गरेको छ । 


नगरपालिकाले लिएको लक्ष्य, पारदर्शीता, सुशासन तथा कार्य सम्पादनका आधारमा जिल्लाका पालिकामध्ये सबैभन्दा बढी अङ्क प्राप्त गरेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।  

'सूचकाङ्कका आधारमा कार्य सम्पादन मूल्याङ्कनमा ६७ दशमलव ७३ अङ्क प्राप्त गरेको हो, यो जिल्लाका अन्य पालिकामध्ये उत्कृष्ट अङ्क हो,' शर्माले भने, 'नगरपालिकाको संस्थागत निर्णय, माथिल्लो निकायलाई तिर्नुपर्ने विभिन्न कर, राजस्व सङ्कलन तथा व्ययको अनुमान गरे नगरेको लगायतका १७ सूचकाङ्कमा जैमिनी नगरपालिका राम्रो देखिएको हो ।'

कार्य सम्पादन मूल्याङ्कनमा ढोरपाटन नगरपालिका दोस्रो भएको छ । ढोरपाटन नगरपालिकाले ६३ दशमलब ३६ अङ्क प्राप्त गरेको छ । बरेङ गाउँपालिकाले ६१ दशमलब ९७ अङ्क प्राप्त गरी तेस्रो भएको छ । तमानखोला गाउँपालिकाले ६१ दशमलब ५७, गलकोट नगरपालिकाले ६१ दशमलब ०१, बडिगाड गाउँपाकिलाले ५७ दशमलब ८७, बागलुङ नगरपालिकाले ५६ दशमलब ४०, ताराखोला गाउँपालिकाले ५४ दशमलब ३१, काठेखोला गाउँपालिकाले ५३ दशमलब ६० र निसीखोला गाउँपालिकाले ५२ दशमलब ४४ अङ्क प्राप्त गरेको छ । 

स्थानीय तहले विसं २०७९ असार १० गतेभित्र आव २०७९/८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभामा पेश गरे नगरेकालाई पहिलो सूचक बनाइएको छ । आव २०७९/८० को राजस्व र व्ययको अनुमान सम्बन्धित सभाबाट २०७९ असार मसान्तभित्र पारित गरे नगरेकालाई दोस्रो सूचक बनाइएको छ । 

स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे नगरेकोलाई तेस्रो सूचक बनाइएको छ । स्थानीय तहले आव २०८०/८१ को आय व्यय प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेकोलाई चौथो सूचक बनाइएको छ । 

स्थानीय तहले आव २०७८/७९ को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी सम्बन्धी विवरण २०७९ कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेकालाई पाँचौँ सूचक बनाइएको छ । आव २०७८/७९ को राजस्व सङ्कलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजस्व सङ्कलन रकम, यथार्थ राजस्व सङ्कलन रकम, कूल विनियोजित रकम, कूल पुँजीगत विनियोजित रकम,  कूल पुँजीगत खर्च, कायम भएको बेरुजु रकम, स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे नगरेको, स्थानीय तहले आवधिक योजना तर्जुमा गरे नगरेकोलाई सूचकमा समावेश गर्दै अङ्कभार दिएको छ । 

शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ८ सम्मको औषध खुद विद्यार्थी भर्नादर, शैक्षिक सत्र २०७८ मा कक्षा ८ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा रहेका विद्यार्थी सङ्ख्या, शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कूल विद्यार्थी सङ्ख्या, आव २०७८\७९ मा चार पटक गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, आव २०७८/७९ मा २४ महिनासम्मका बालबालिकाको अनुमानित सङ्ख्या, पूर्ण खोप पाएका बालबालिकाको सङ्ख्यालाई सूचक बनाइएको छ ।


Author

थप समाचार
x