गण्डकी

पिएन क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

इकागज |
फागुन २९, २०७९ सोमबार ७:४७ बजे

पोखरा- उच्च अदालत पोखराले पृथ्वीनारायण क्याम्पस (पिएन) मा स्ववियु निर्वाचनको तत्काल प्रक्रिया अगाडि नबढाउन आदेश दिएको छ ।

न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालाशले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत २ गतेसम्म निर्वाचन सम्बन्धी काम कारबाही अगाडि नबढाउन आदेश दिएको हो ।


क्याम्पसमा दर्ता गराएको संगठनको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी समूह’ ले फागुन २६ गते क्याम्पसलाई विपक्षी बनाइ उच्च अदालत पोखरामा विप्लबी न्यौपानेले रिट दायर गरेकी थिइन् । सोही रिटको आधारमा उच्च अदालते सो आदेश जारी गरेको हो ।

गत फागुन १९ गते ‘स्वतन्त्र विद्यार्थी समूह’ नाम राखी निर्वाचन समितिमा नाम दर्ता गराएकोमा निर्वाचन समितिले उक्त समूहको नाम परिवर्तन गरेर ‘पृथ्वी विद्यार्थी मञ्च’ राखेर अन्तिम नामावली प्रकाशन गरेपछि न्यौपाने अदालत गएकी थिइन् ।

‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरि पाउन निवेदनमा उठाइएको विषयवस्तुको संवेदनशीलतातर्फ दृष्टिगत गर्दा दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागी मिति २०७९ चैत २ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन् विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिई उक्त छलफल हुने मिति २०७९ फागुन १२ २ गतेसम्मको लागि निर्वाचन सम्बन्धी काम कारबाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरि दिइएको छ,’ न्यायाधीश राजभण्डारीको आदेशमा उल्लेख छ ।

यसै त क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लागेकाले पनि निर्वाचन प्रक्रिया रोकिएको थियो भने उच्च अदालतको आदेशपछि पिएनमा स्ववियु निर्वाचनको अन्यौलता झन थप बढन गएको छ ।


Author

थप समाचार
x