गण्डकी

स्ववियु चुनाव : कास्कीका सबै क्याम्पसमा निर्वाचन अनिश्चित

धनबहादुर गुरुङ |
चैत ३, २०७९ शुक्रबार १९:४६ बजे

पोखरा । चैत ५ मा देशभर स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी संगठनहरू त्यही अनुसार तयारीमा छन् । तर, कास्कीमा यसको रौनक निकै कम छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कास्कीका ६ क्याम्पसमा चुनाव अनिश्चित बनेसँगै कास्कीमा निर्वाचनको चहलपहल निकै कम भएको हो ।  

यहाँ देशभरमै बढी विद्यार्थी संख्या भएको पृथ्वीनारायण क्याम्पससँगै पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, विन्दवासिनी संस्कृत विद्यापिठ र जनप्रिय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै थियो । तर, विद्यार्थी संगठनको विवादका कारण निर्वाचन अनिश्चित बनेको छ । कास्कीका ६ मध्ये २ क्याम्पसमा मात्र मनोनयन दर्ता भएको थियो । ती क्याम्पसहरूमा पनि विद्यार्थी संठगनको विवाद कायमै छ । 


गत २७ फागुनमा पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान र पोखरा नर्सिङ क्याम्पसमा मात्र मनोनयन दर्ता भए । जसअन्तर्गत इन्जिनियरिङमा अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियूले संगठन दर्ता गरेका थिए । यहाँ अनेरास्ववियु र अनेरास्ववियूले गठबन्धन गरेका छन् । यहाँ अनेरास्ववियुका विवेक न्यौपाने सभापतिका उम्मेदवार छन् । अनेरास्ववियुले १ सदस्य लिने सहमति भएपछि न्यौपानेलाई साथ दिने भएको हो ।  

नेविसंघबाट प्रदीप पनेरु सभापति उम्मेदवार बन्दा अखिल क्रान्तिकारीबाट वासुदेव पौडेल उम्मेदवार छन् । यहाँ राजकुमार श्रेष्ठ र आकाश कार्की स्वतन्त्र उम्मेदवार छन् । तर, यहाँ मनोनयन दर्ता भएसँगै विवाद जारी उत्पन्न भएको हो ।

ईन्जिनियरिङ क्याम्पसमा नेविसंघ क्याम्पस इकाइ समितिका ३ उपसभापतिको राजीनामासँगै नेविसंघ समर्थित विद्यार्थी निर्वाचन कार्यालयमा तालाबन्दीसहित अनसन बसेका छन् । स्थिति सामान्य नहुन्जेलसम्म निर्वाचनका प्रक्रिया अघि नबढाउन उनीहरूको माग छ । साथै उम्मेदवारी दिएका केही सम्पर्कविहीन भएको र पठनपाठन स्थितिसमेत नरहेकाले स्थिति सामान्य नहुञ्जेल निर्वाचन प्रक्रिया अघि बढ्न नहुने उनीहरूको ठहर छ । तर, नेविसंघ जिल्ला सभापति नसिव गुरुङले अनसनमा बसेको टोली नेविसंघको पक्षमा नरहेको बताउँछन् । टिकट नपाएको झोकमा राजीनामा दिएर हिंडेका टोलीले गरेको अनसनमा नेविसंघको कुनै हात नरहेको उनले बताए । 

उता, पोखरा नर्सिङ क्याम्पसमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ । यहाँ पोखरा नर्सिङमा नेविसंघ र अनेरास्ववियुले मनोनयन दर्ता गरेका थिए । नेविसंघबाट अनुस्था चापागाईं र अखिलबाट अन्जना अधिकारीको प्यानल चुनावी मैदानमा थिए ।

तर, सरकारी कार्यालयमा कार्यरत विद्यार्थीहरू अञ्जना अधिकारी र दिपिका धितालको उम्मेदवारी दर्ता खारेजीको माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेकी भएको थियो । रिट उपर शुक्रबार अदालतले अर्को आदेश नभइन्जेसम्मा लागि स्थगन गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय उज्ज्वल शुक्ल र ऋषिराज राजभण्डारीको संयुक्त इजलाशले यो निर्णय गरेसँगै यहाँ पनि निर्वाचन अनिश्चित बनेको छ । नेविसंघबाट सभापती पदका प्रत्यासी अनुष्ठा चापागाईं समेतले दावी विरोधको उजुरी दिएपनि क्याम्पसको निर्वाचन समितिले उनीहरूको उम्मेदवारी कायमै राखेपछि विवाद उच्च अदालत पोखरामा पुगेकाे थियो । 

कास्कीका अन्य ४ क्याम्पसमा मनोनयन नै दर्ता भएन । पृथ्वीनारायण क्याम्पसहित वन विज्ञान क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा निर्वाचनको प्रक्रिया नै भएको छैन । पृथ्वीनारायणमा निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई बिहीबार निरन्तरता दिएको छ । २ चैतसम्म निर्वाचनसम्बन्धी काम कारबाही अगाडि नबढाउनू भनी अदालतले यसअघि सो आदेश दिएको थियो । 

वन क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले ताला लगाएका छन् । जनप्रियमा नेविसंघले विवाद झिकेपछि रोकिएको छ भने विन्दुवासिनीमा अखिल र अखिल क्रान्तिकारीको ताला छ । तर जनप्रिय, वन र विन्ध्यवासिनीमा विद्यार्थी मिलेर आएर माथिको निर्देशनअनुरुप अर्को निर्वाचन मिति तोकेर स्ववियु निर्वाचन गर्ने तयारी रहेको बताइएको छ । वन क्याम्पसका प्रमुख विनोद हेंजु, जनप्रियका निर्वाचन अधिकृत गोपाल बराल र संस्कृतका निर्वाचन समिति सदस्य आनन्दमणि रिजालले आफूहरू स्ववियु निर्वाचन गराउने पक्षमा रहेको बताउँछन् । यसैबीच, ५ चैतको चुनावको लागि मौन अवधि सुरु भएको छ । यसबीचमा प्रचारप्रसारका कार्यक्रम गर्न पाइने छैन । 
 


Author

थप समाचार
x