गण्डकी

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदानमा सहभागी हुन अपिल

इकागज |
बैशाख ९, २०८० शनिबार १९:२८ बजे

दमौली- आइतबार हुने तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । 

निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनमा सहभागी भई मतदान गर्न सम्पूर्ण आम मतदातामा अपिल गरेका छन् । भोलि बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानकार्य जारी रहनेछ ।


प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भयरहित र मर्यादित तरिकाले निर्वाचन सम्पन्न गराउन सुरक्षा प्रबन्ध मजबुत बनाइएको जानकारी दिए । निर्वाचनलाई भयरहित बनाउन मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रूपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।

पृथ्वीराजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्ण रूपमा बन्द हुने भएको छ । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो । 

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । तनहुँ जिल्ला भएर सञ्चालन हुने रात्रिबस बिहान ४ बजेअगावै जिल्ला पार गरिसक्न प्रशासनले आग्रह गरेको छ । 

उक्त दिन दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शव वाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास भएको पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । 


Author

थप समाचार
x