गण्डकी

दृष्टिविहीन महिला क्रिकेटरको विश्वकप खेल्ने सपना

धनबहादुर गुरुङ |
बैशाख १३, २०८० बुधबार २१:४२ बजे

पोखरा- पोखरा क्रिकेट मैदानमा​ मंगलबार र बुधबार नेपाल र भारतले दुई खेल खेले । मंगलबारको उद्घाटन खेलमा नेपाल ८ विकेटले विजयी भयो भने बुधबार भारत नेपालमाथि ९ विकेटले हाबी भयो । यि दुवै खेलमा क्रिकेट मैदान एक दृष्य देखिन्थ्यो ।

बलको छिनछिन आवाजमा खेलाडीहरूले चाल चाल्थे । रन बटुल्ने वित्तिकै कमेण्टरले माइकबाट जानकारी गराएपछि पेभिलियनमा बसेका खेलाडी चियर अपमा सामेल हुन्थे भने खेलाडी आउट भएपछि फिल्डमा रहेका खेलाडी खुसी बाँड्थे । तर, उनीहरू कोही आँखा देख्थेनन्, कोही मध्यम देख्थे । खेलमा उनीहरूको खुसीले त्यो आभास हुन्थेन । त्यहाँ खेलिरहेका नेपाली महिला दृष्टिविहीन क्रिकेट खेलाडीहरू सबै एउटै सपना बोकेर मैदानमा डटिरहेका छन् । उनीहरूको सपना दृष्टिविहीन महिलाको विश्वकप खेल्नु हो ।


मंगलबारदेखि नेत्रहीन क्रिकेट संघ, नेपालको आयोजनामा नेपाल भारत दुई पक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिज उद्घाटन भयो । सोही सिरिज अन्तर्गत ५ खेलमध्ये पोखरामा २ खेल तय भएको थियो । पोखरामा हुने भनिएको खेल सकिएको छ । अब, ३ खेल काठमाडौँ मुलपानी क्रिकेट मैदानमा हुँदैछ । टोली बिहीबार काठमाडौँ प्रस्थान गर्दैछ । 

नेपाली खेलाडीहरूको क्षमता वृद्धिका लागि नेत्रहीन क्रिकेट संघ, नेपालको निमन्त्रणामा भारतीय टोली अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाल आएको हो । सिरिज विजेताले ७५ हजार नगद पुरस्कार पाउने छ भने उपविजेताले ४५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

पहिलो दिन भारतको तुलनामा नेपालले निकै राम्रो खेल्यो तर, दोस्रो दिन बुधबार भारतसँग पराजित भयो । अबको सबै खेल जितेर सिरिज नै हात पार्ने लक्ष्य रहेको नेपालकी कप्तान भगवती भट्टराईले बताइन् । पहिलो जितले आफूहरूलाई हौसला मिलेको उनले बताइन् ।

‘पहिलो जितले उर्जा थपिएको छ । दोस्रोमा अलि अलि हाम्रो कमजोरी छ । त्यो सुधार्दै अबको खेल पनि हामीले जित्छौं,’ उनले भनिन्, ‘हाम्रो लक्ष्य भनेको विश्वकप मै खेल्ने हो तर अहिलेसम्म दृष्टिविहीन महिलाहरूको विश्वकप नै भएको छैन ।’

नेपाल टिमका प्रशिक्षक रिजन प्रजुले दृष्टिविहीन महिला खेलाडीहरू क्रिकेटमा निकै राम्रो लयमा रहेकोले राज्यले उनीहरूको बारेमा सोच्नुपर्ने बताए । यसमा राष्ट्रिय खेलकुद परिषद्ले पनि केही योजना बनाउनुपर्ने उनको भनाइ थियो ।

‘राष्ट्रिय खेलकुद परिषद्ले पुरुष दृष्टिविहीनहरूका लागि प्रतियोगिता गरेको छ,’ उनले भने, ‘पहिलो खेलमा हामीले भारतलाई जित्यौँ यो पनि देशका लागि उपलब्धि नै हो नि । त्यसैले उहाँहरूका लागि उमेर समूहबाटै प्रतियोगिता गर्न सक्ने हो भने राम्रो हुन्छ ।’

नेत्रहीन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरेले पनि दृष्टिविहीन महिला विश्वकपका लागि नेपाली टिम तयार रहेको बताए । नेपालले यसभन्दा अघि सन २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गरी दुवै प्रतियोगिता जितेर त्यसलाई प्रमाणित गरिसकेको उनले बताए ।

भारतसँगको उद्घाटन खेल जितेर पनि थप प्रमाणित गरेको उनको भनाई थियो । नेपाली टिम विश्वकपका लागि तयार रहेको उनले बताए ।

दृष्टिविहीन महिला क्रिकेटमा नेपालसहित भारत, वेष्ट इण्डिज, बेलायत, अष्ट्रेलीया, श्रीलंका, पाकिस्तानले टिम तयार गरिरहेको उनले बताए । आफू पनि विश्वकप आयोजक कमिटीमा भएकाले ९ वटा देश तयार भएपछि विश्वकप गर्ने उनको भनाइ थियो ।

नेपाली महिला दृष्टिविहीन क्रिकेट खेलाडीको विश्वकप खेल्ने धोको छिट्टै पूरा हुने अध्यक्ष घिमिरेले जानकारी दिए । 


Author

थप समाचार
x