गण्डकी

गण्डकी सरकार गठनमा ढिलाइ

प्रचण्डको फोन कुर्दै माओवादी, माओवादीको हस्ताक्षर कुर्दै कांग्रेस

धनबहादुर गुरुङ |
बैशाख १४, २०८० बिहीबार १०:१५ बजे

पोखरा - वैशाख ९ गते एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारले विश्वास गुमाएपछि सोही दिन वा भोलिपल्ट नयाँ सरकार बनिसक्नुपर्ने हो । तर, मुख्यमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दाबी कायम रहेका कारण सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन् । प्रदेश प्रमुख गुरुङले दिएको समयसीमा सकिनै लागेको छ । बिहीबार दिउँसो ४ बजेसम्मका लागि गुरुङले दलहरूलाई संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए ।


सरकार गठनका लागि आह्वान गरेको समय वित्नै लाग्दासमेत गण्डकीमा कसको नेतृत्वमा सरकार गठन हुने भन्ने अल्झन फुकेको छैन । गण्डकीको मुख्यमन्त्री माओवादीले पाउने संकेत पाएपछि सोमबार कांग्रेस सांसदहरू काठमाडौं पुगेका थिए । शीर्ष नेताहरूले कांग्रेसकै नेतृत्वमा गण्डकी सरकार बन्ने आश्वासन दिएपछि मंगलबार उनीहरू पोखरा फर्किए । त्यसपछि कांग्रेस हस्ताक्षर संकलनमा लागे । तर, माओवादीले समर्थनको हस्ताक्षर नदिँदा गण्डकीमा नयाँ सरकार गठनमा ढिलाइ भएको छ । 

शीर्ष नेतृत्वले कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति गरेको थाहा पाएपछि मुख्यमन्त्रीमा दाबी गरेका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान मंगलबार काठमाडौं गएका थिए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गण्डकीको नेतृत्व गुमाउन नहुने सुझाव दिएर फर्किए । ‘सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्ने चर्चा सुनेर आएको हुँ भनें । निर्णय के भएको हो भनेर सोधें,’ उनी भन्छन्, ‘प्रचण्ड कमरेडले कुनै निर्णय भएको छैन भन्नुभयो । कांग्रेस सभापति शेरबहादुर देउवासँग बसेर निर्णय गरेपछि फोन गर्छु भन्नुभयो । म पोखरा फर्किएँ ।’ 

चुमानले आफू प्रचण्डको फोन कुरिरहेको बताएका छन् । शीर्ष नेताहरूबीच निर्णय नभएका कारण प्रदेशमा छलफल गर्ने एजेन्डासमेत नपाएको उनको भनाइ छ । ‘मुल कुरै आएको छैन । पहिला त नेतृत्वको विषय टुंगिनुपर्‍यो नि,’ उनले थपे, ‘त्यसपछि कसलाई कुन मन्त्रालय र कुन पार्टीलाई कतिवटा मन्त्रालय भन्ने कुरामा छलफल हुन्छ ।’

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले माओवादीको समर्थन पाउनेवित्तिकै मुख्यमन्त्रीमा दाबी पेस हुने बताए । ‘माओवादीको समर्थन कुरेर बसेका छौं । बिहीबार बिहानसम्म छिनोफानो हुने बताउनुभएको छ,’ उनले भने, ‘कांग्रेस तयार अवस्थामा छ । माओवादीलाई कुरिरहेका छौं ।’ पाण्डे बुधबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने योजनामा थिए ।
 


Author

थप समाचार
x