गण्डकी

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको यस्तो छ राजनीतिक यात्रा

धनबहादुर गुरुङ |
बैशाख १४, २०८० बिहीबार १९:५० बजे

पोखरा- नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले वैशाख ९ गते विश्वासकाे मत गुमाएपछि नयाँ सरकार गठन हुन निकै समय लाग्यो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुख गुरुङले दिएको ३ दिनको समयसीमा सकिनै लाग्दा गण्डकीले नयाँ मुख्यमन्त्री पाएको छ ।

बिहीबार दिउँसो ४ बजेसम्मका लागि गुरुङले दलहरूलाई संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका थिए । ४ बजेभन्दा अघि नै नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका छन् । 


गोरखा जिल्लामा २०२१ भदौ ९ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री पाण्डे विद्यार्थी हुँदादेखि नै राजनीतिमा सक्रिय व्यक्ति हुन् । उनी २०३६ सालदेखि नै नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका हुन् ।

२०३७ सालमा अमरज्योती जनता मावि गोरखाबाट एसएलसी उत्तीर्ण गरेका पाण्डेले त्रिभुवन विश्वविद्यालबाट स्नातक गरेका छन् । उनी २०३९ सालमा नेविसंघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भए । २०४९ मा नेविसंघको केन्द्रीय सदस्य समेत भए ।

त्यसपछि उनको राजनैतिक यात्रा तरुण दलसँग जोडियो । पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बने । राजनीतिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिनाभन्दा बढी समय जेल जीवन बिताएका छन् । उनी तीन पटकसम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी अहिले पनि केन्द्रीय सदस्य नै हुन् ।

उनीसँग २०७४ सालमा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ । २०७९ मंसिर ४ गतेको निर्वाचनबाट उनी गोरखा २ (ख) मा गठबन्धनको उम्मेदवार बनेर जितेका हुन् । उनी गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता हुन् । 
 


Author

थप समाचार
x