गण्डकी

विपद्का लागि कास्की ‘अलर्ट’

धनबहादुर गुरुङ |
बैशाख ३०, २०८० शनिबार २०:१५ बजे

फाइल तस्बिर

पोखरा- गएको माघ १ गते पोखरामा यती एयरको जहाज दुर्घटना भयो । चालक दलसहित ७२ जना सवार जहाज सेती खोचमा दुर्घटनाग्रस्त भयो । दुर्घटना भएका १५ मिनेट पनि नबित्दै जिल्ला विपद् व्यवस्थापन समिति कास्की आफ्ना सबै संयन्त्रलाई खबर गरी घटना स्थलमा पुग्यो । दुर्घटनाग्रस्त जहाज उद्धारका क्रममा जति जना फेला परे सबै मृत भेटिए ।

सो दिन जिल्ला विपद् व्यवस्थापन समिति मातहतको सशस्त्रको टोलीले आफूसँग भएको ४० वटा ‘डेथ बडी ब्याग’ बोकेर गएको थियो । समितिसँग भएका ब्यागभन्दा बढी ‘डेथ बडी’ भएपछि समस्या पर्यो । धन्न नजिकैको रेडक्रससँग समन्वय गरी व्यवस्थापन गर्यो । त्यो समय सम्पूर्ण संयन्त्रको ध्यान पुगेकाले गैरप्राकृतिक विपद्लाई कास्कीले टार्यो । विपद् व्यवस्थापनका क्रममा निकै सकसपूर्ण अवस्था सिर्जना हुन्छ । सेतीमा आएको सुख्खायामको बाढी होस् या बर्खायामको पहिरो, बाढी, आगलागी जस्ता विपद्ले यहाँ ठूलो जनधनको क्षति पुर्याएको विगत छ ।


आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक विपद्का समयमा त्यसलाई व्यवस्थापन पर्न निकै कठिन पर्छ । भवितव्य हुने विपद्का लागि कास्की चनाखो नै छ । यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तह र सम्बन्धित सरोकारवाला निकायहरूसँग मिलेर जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् व्यवस्थापनका योजना बनाइरहेको छ ।

बिस्तारै मनसुनको समय सुरु हुँदैछ । असार, साउन र भदौमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुन्छ । प्राकृतिक विपद् रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेर काम गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । जिल्ला प्रशासनका कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका ढकालले जोखिम क्षेत्र पहिल्याई विपद् व्यवस्थापन तथा प्रतिकार्य योजना बनाइसकिएको बताए ।

विगतका वर्षहरूमा जस्तै मनसुन पूर्व तयारी योजना बनाइएको सूचना अधिकारी ढकालले जानकारी दिए । ‘गत चैतमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तह र सरोकारवाला सबैलाई मनसुन तयारी योजना बनाउन भनिसकिएको छ,’ उनले भने, ‘सबै स्थानीय तहले विपद्का लागि स्थानीय तहमै विपद् व्यवस्थापन तयारी पनि गरिसक्नुभएको छ ।’ स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै कामहरू भइरहेको उनले बताए ।

ठूलो विपतकाे अवस्थामा सुरक्षा समितिहरू पोखरा माटेपाटनस्थित सशस्त्र प्रहरी बलको मालेपाटन गणमा जम्मा हुने योजना बनाइएको उनले सुनाए । ‘रेडक्रस, स्काभेटर, डोजर लगायत सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा राख्न निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘हामीले राजमार्ग सधैं खुला राख्नका लागि जिल्ला स्तरीय समिति बनाएर काम अघि बढाएका छौं ।’ विपद् भइसकेपछि राहतका लागि कोष तयारी अवस्थामा रहेको उनले सुनाए ।

‘विपद्मा जनधनको क्षति भयो भने केन्द्रीय सरकारले तोकेको रकम छँदैछ,’ उनले भने, ‘त्यसमा स्थानीय र प्रदेश सरकारको पनि दायित्व रहन्छ । यसका डुब्लिकेसन नहोस् भनेर काम पनि गरिरहेका छौं ।’ विपद्को जोखिम न्यूनीकरणका लागि स्थानीय तहसँग सहकार्य भइरहेको उनले बताए ।

विपद्का लागि कास्कीका स्थानीय तह पनि सजग नै छ । ५ स्थानीय तह रहेको कास्कीमा १ महानगरपालिकासहित ४ वटा गाउँपालिका छन् । सबै पालिकाले बर्खायाममा हुन सक्ने विपद्का लागि योजना बनाएर अगाडि बढेको छ । पोखरा महानगरपालिकाले बाढी, पहिरो, डुबान हुने उच्च जोखिमको निरीक्षण गरी रोकथामका लागि योजना बनाइसकेको पोखरा महानगरका विपद व्यवस्थापन शाखा प्रमुख सुरेन्द्रप्रसाद शर्माले जानकारी दिए । ‘उच्च जोखिम स्थलहरूको निरीक्षण गरी रोकथामका लागि बाढी, पहिरो नियन्त्रण भनेर छुट्याएर ५० वटा जति योजनामा काम हुँदैछ,’ उनले भने ।

महानगरको विपद् व्यवस्थापन शाखा, नगर प्रहरी, दमकल, एम्बुलेन्स लगायतको एउटा टोली तयार रहेको उनले सुनाए । मनसुन प्रतिकार्य योजना निर्माणको चरण सकिएर अभिमुखीकरण कार्यक्रम गरिसकेको उनको भनाइ छ । विपद्पछि पुनःस्थापनाका लागि १ करोडको राहत कोष तयारी अवस्थामा रहेको उनले सुनाए ।

वडाहरूमा पनि विपद् शीर्षकमा बजेट छुट्टिएकाले कस्तो किसिमको विपद्मा के गर्ने भनेर योजनाका साथ पोखरा महानगर लागिरहेको उनले जानकारी दिए । 
रूपा गाउँपालिकाले विपद् न्यूनीकरणका लागि सचेतनाका कार्यक्रम चलिरहेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । विपद् प्रतिकार्यका लागि पनि आफूहरू तयारी अवस्थामा रहेको उनले बताए ।

‘पालिका भित्रको देउराली, तालबेसी र फालभञ्ज्याङको प्रहरी चौकीमा विपद्को सामान राख्ने तयारी भइसकेको छ । गाउँको पालिकाको डोजर र एम्बुलेन्स तयारी अवस्थामा छन्,’ उनले भने, ‘हामी सँग भएको स्वयंसेवक दस्ता पनि तयारी अवस्थामा छ । गाउँपालिकाको ८२ वटै टोलमा स्टेचर छन् । वडा कार्यालयहरूमा पनि विपद्का केही सामानहरू राखेका छौं ।’

रेडक्रस, सुरक्षाका निकायसँग समन्वय गर्न फोकल पर्सन तोकिएको उनले बताए । राहतका लागि गाउँपालिकाकै एक होलसेल पसलसँग सम्झौता गरिसकिएको अध्यक्ष ओझाले सुनाए । योसँगै रुपा गाउँपालिका साना ठूला त्रिपाल खरिद गरी तयारी अवस्थामा छ ।

अन्नपूर्ण गाउँपालिकामा विपद् व्यवस्थापन तथा वातावरण शाखाले विपद्को काम गरिरहेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ जानकारी दिए । ‘विपद् व्यवस्थापन तथा वातावरण शाखाले वर्षामा आउन सक्ने भवितव्य घटनाको पूर्व तयारी स्वरूप त्रिपाल, ग्याविन तार, पाइपहरू खरिद प्रक्रियामा अघि बढेको छ,’ उनले भने, ‘यो सँगै प्रहरी, स्वास्थ्य संस्था तयारी अवस्थामा छ ।’ राहतका लागि कार्यविधि नै बनाएर अघि बढेको उनले सुनाए । अघिल्लो वर्षमा जोखिम भएका र यो वर्ष पनि हुन सक्ने पहिचान गरी न्यूनीकरणको काम भइरहेको प्रवक्ता गुरुङले जानकारी दिए ।

माछापुच्छ्रे गाउँपालिकाले पनि विपद् न्यूनीकरणका लागि पाइप र तारजाली खरिद प्रक्रिया अघि बढाएको गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । ‘गाउँपालिका आफ्नै एम्बुलेन्स त छैन तर भूपू सैनिकले चलाएको एउटा छ आवश्यक परको समयमा त्यही प्रयोग गर्न सक्छौं,’ उनले भने, ‘विपद् भइहाल्यो भने प्रहरी र सरोकारवाला निकायलाई जानकारी गराएर प्रतिकार्यमा लाग्ने योजना छ ।’ विपद् कोष खडा गरिसकिएको उनले सुनाए ।

टिन र त्रिपाल व्यवस्थापनका लागि छलफल चलिरहेको छ । ‘विपद् भनेर आउने कुरा भएन तर सम्भावित क्षेत्रमा तारजाली लगायत अन्य सामान दिनका लागि निवेदन संकलन भइरहेको छ,’ अध्यक्ष गुरुङले भने ।

मादी गाउँपालिकामा जेठको पहिलो साता विपद् प्रतिकार्य तालिम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । ‘जेठको ५ देखि ८ गतेसम्म गाउँपालिकका जनप्रतिनिधि, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि गरी २४ जनालाई आवासीय तालिम हुँदैछ,’ उनले भने, ‘यो तालिम गोर्खा वेलफेयरको आयोजनामा हुने क्याम्प हुन लागेको हो ।’

गाउँपालिकाको २ वटा एम्बुलेन्स र १६ स्वास्थ्य संस्था तयारी अवस्थामा रहेको उनले बताए । मादी गाउँपालिकामा राहत कोष पनि खडा भइसकेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।  


Author

थप समाचार
x