गण्डकी

(पूर्णपाठ)

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षामा जोड

इकागज |
जेठ २१, २०८० आइतवार १८:३६ बजे

पोखरा- गण्डकी सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षामा जोड दिएको छ । सरकारले प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिका लागि गरिएको अध्ययन प्रतिवेदन समेतका आधारमा स्तरवृद्धि गर्न आवश्यक देखिएका अस्पतालको स्तरोन्नति गर्ने भएको छ । गोरखाको आँपपीपल अस्पताल र बागलुङको बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहत ल्याउन पहल गर्ने भएको छ ।


१० वर्षमुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा ओपिडी सेवा र प्रयोगशाला परीक्षण नि:शुल्क हुने भएको छ । 'गण्डकीमा डायलासिस : सेवा नागरिकको स्वास्थ्यमा टेवा' अवधारणा अनुसार डायलासिसलाई झन्झटमुक्त बनाउँदै पालो कुर्नुपर्ने अवस्था शून्यमा झारिने भएको छ ।

यस्तै गुणस्तरीय शिक्षाका लागि अध्ययन तथा अनुसन्धानमा आधारित रही विद्यालय शिक्षाको गण्डकी प्रदेशस्तरीय मापदण्ड तय गरिने भएको छ । गण्डकी विश्वविद्यालयलाई विशिष्टिकृत जनशक्ति उत्पादनमा केन्द्रित रहने गरी संस्थागत क्षमता विकास गरिने भएको छ भने दुर्गम तथा छरिएका बस्तीमा विद्यालयमा आवश्यकता अनुसार ठूला विद्यालय, लिड विद्यालय आवासीय विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहन गरिने भएको छ ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रमले निरन्तरता पाउने भएको छ भने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सञ्चालन कार्यक्रमलाई निरन्तरता दिँदै हाल सञ्चालित आश्रमको सुदृढीकरण गरिने छ । ज्येष्ठ नागरिकलाई विभिन्न सेवा तथा सुविधामा विशेष छुट र सहुलियत दिइने छ ।

गण्डकीलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्न सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माण अघि बढाइने छ भने अन्तर्राष्ट्रिय कभर्ड हलको सम्भाव्यता अध्ययन गरी निर्माण अघि बढाइने भएको छ । एक स्थानीय तह, एक खेल मैदान निर्माणलाई स्थानीय तहसँगको सहकार्यमा निरन्तरता दिइने उल्लेख छ ।

कृषितर्फ प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी अभियानका साथ बाँदर प्रभावित क्षेत्रलाई केन्द्रित गरी प्रदेशभित्र उच्च सम्भावनाको क्षेत्र रहेको दुग्ध तथा मासुजन्य लगायतका निर्यात प्रवर्द्धन हुने बाली वस्तु उत्पादनमा विशेष कार्यक्रम ल्याइने भएको छ ।

 


Author

थप समाचार
x