गण्डकी

संघीय बजेट : नार्पाभूमि गाउँपालिकामा एक जनालाई साढे ३ लाख

धनबहादुर गुरुङ |
जेठ २३, २०८० मंगलबार १२:२२ बजे

पोखरा । नेपालको जनगणना २०७८ अनुसार मनाङको नार्पाभूमि गाउँपालिकाको जनसंख्या ३ सय ९८ छ । यही आधारमा गत सोमबार संघीय सरकारले यस गाउँपालिकालाई छुट्याएको बजेट प्रतिव्यक्ति वितरण गर्ने हो भने एउटाको भागमा ३ लाख ४७ हजार पर्न जान्छ । यहाँको बजेटको आकार प्रदेशको बजेट भाषणमा अझै बढ्न सक्छ । 

नार्पाभूमि गाउँपालिकालाई संघले आर्थिक वर्ष २०८०÷८१ का लागि अन्तर वित्तीय हस्तान्तरण अन्तर्गत १३ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सोहीअनुसार यहाँका १ नागरिकलाई ३ लाख ४७ हजार  ९ सय ८९ रुपैयाँ ९४ पैसा पर्छ । जनसंख्या पनि कम भएका कारण अरु पालिका भन्दा यहाँ केन्द्रको बजेट कम परेको अनुमान गर्न सकिन्छ ।


जनसंख्याका आधारमा बजेट धेरै देखिए पनि भौगोलिक विकटताका कारण नार्पाभूमिका लागि यो बजेट कम रहेको नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले बताए । नार्पाभूमि सडक सञ्जाल, विद्युत, सञ्चार र इन्टरनेटको पहुँचबाट धेरै टाढा छ । भौतिक पूर्वाधारमा पनि यो पालिका निकै पछि परेको छ । यहाँ पूर्वाधारका काम हुँदै छन् । सोही कारण पनि पालिकाका लागि संघीय सरकारबाट छुट्टिएको बजेट कम भएको उनी सुनाउँछन् । 

निमित्त प्रमुख प्रशासकीय अधिकृत पाख्रिनका अनुसार नार्पाभूमिमा मतदाता संख्या नार्पाभूमिमा ४ सय ४७ छन् । सोही गाउँपालिकाको जनसंख्या राष्ट्रिय तथ्यांकभन्दा बढी भएको उनको दाबी छ । ‘जाडो छल्न नागरिकहरू बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको हो,’ उनले भने । 

चिसो र हिउँका कारण विकास निर्माणका काम गर्न समस्या हुने उनको भनाइ थियो । भौगोलिक विकटताका कारण ढुवानी खर्चिलो भएको उनले बताए । ‘हाम्रोमा आएको बजेट यहाँको विकास निर्माणमा काम गर्नका लागि पर्याप्त छैन,’ उनले भने, ‘ढुवानी गर्न र कामदारलाई ज्याला दिनै समस्या छ । त्यसै माथि ५ महिना त चिसोले गर्दा काम गर्न सकिँदैन ।’

अरु पालिकाको जस्तै विकास गर्नका लागि संघ र प्रदेशले छुट्याउने बजेटले नपुग्ने उनले बताए । ‘यहाँ सडक सञ्जाल नै पुगेको छैन । साह्रै भयो भनेर सुरुआत गरेका छौं । बिजुलीको राम्रो प्रबन्ध छैन । गाउँपालिका कार्यालयमा फोन नै लाग्दैन,’ उनले भने, ‘यस्तो विकट ठाउँमा विकासका काम सुरु हुँदैछन् । बजेट त धेरै नै आवश्यक पर्छ । भने जस्तो बजेट भयो भने गाउँपालिका भवनको स्तरोन्नति र वडा कार्यालय भवन सहजै बनाउन सकिन्थ्यो ।’


Author

थप समाचार
x