गण्डकी

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

इकागज |
जेठ २५, २०८० बिहिवार २१:१ बजे

पाेखरा- गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमतले पारित भएको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २१ गते प्रदेश सभासमक्ष प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि ३ दिनसम्म छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिए ।


मुख्यमन्त्री पाण्डेले प्रदेशलाई आत्मनिर्भर र सक्षम बनाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समुन्नत बनाउने अभियानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गरे । प्रदेशको प्रथम पञ्चवर्षीय योजना र त्यसको समीक्षालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उनले प्रस्ट्याए ।

मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाए । उनले वर्तमान सरकारका लक्ष्य र प्राथमिकता स्पष्ट रूपमा नीति तथा कार्यक्रममा झल्केको बताए । संघीय सरकारसँग अधिकारका लागि जुध्न र स्थानीय तहलाई साथै लिएर हिँड्न सरकार तयार रहेको उनको भनाइ थियो ।


Author

थप समाचार
x