गण्डकी

पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द

इकागज |
जेठ ११, २०७८ मंगलबार १०:३६ बजे

फाइल फोटो

कास्की : पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी बहिरङ्ग सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी  सरकारले कोभिड-१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते आजदेखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ ।

संघीय सरकारमातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन गण्डकी प्रदेश सरकारले पनि केही दिनअघि सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ ९ गते अस्पताललाई पूर्णरूपमा कोभिड-१९ का सङ्क्रमितको उपचार व्यवस्था गर्न भनेकाले अस्पतालमा सञ्चालनमा रहेको कोभिड-१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा. डा. भरतबहादुर खत्रीले जानकारी दिए । 


अस्पताल प्रशासनले यसबाट सर्वसाधारणमा पर्न जाने असुविधाप्रति दुःख व्यक्त गरेको छ । पश्चिमाञ्चल अस्पतालमा कोरोनाका बिरामीको उपचारका लागि ४२ आइसोलेशन शय्या, १७ आइसीयू शय्या, सातवटा भेन्टिलेटर र १६ वटा एचडीयू शय्या रहेकामा अधिकांश प्रयोगमा आएका छन् ।

सो अस्पतालमा प्रदेशका ११ वटै जिल्लाबाट गरी वर्षमा तीन लाख तथा दैनिक एक हजार हाराहारीमा सेवाग्राहीले बहिरङ्ग सेवा लिने गरेको अस्पतालले जनाएको छ । यसैगरी दैनिक २०० जनाले आकस्मिक स्वास्थ्य उपचार सेवा लिने गरेको बताइन्छ । रासस 
 


Author

थप समाचार
x