गण्डकी

आधुनिकताको नाममा मौलिकता भुल्दै तीज

धनबहादुर गुरुङ |
असोज १, २०८० सोमवार ९:११ बजे

पोखरा-  पोखरा महानगरपालिका २८ की गंगा भण्डारी पहिलेको तीज र अहिले मनाइने तीजमा आकाशपाताल फरक पाउँछिन् । गीतदेखि पहिरनसम्म सबै परिवर्तन भएको उनको भनाइ छ । ‘हामीलाई त आफ्नै दाजुभाइ नजिक भए’सी गीत गाउन शर्म लाग्थ्यो । अहिले त क्या हुन् क्या हुन्, यस्ता गीत । हामी अहिले पनि गुन्यूचोलो लगाएर हिंडेको छौं,’ उनले भनिन्, ‘खानामा पनि उस्तै परिवर्तन भएको छ । हाम्रा पालामा गाभा पकाउने भन्थे । दहीमही खाइन्थ्यो । अहिले त होटल नभई हुँदैन । अनि बोत्तल नभई नहुने ।’ उनी आफ्ना पालाको गीत सम्झिन्छिन् ।

‘खाना पिना जुठो भाडा गएँ म त मेलामा
बिहादान आँटेछन् त्यसै बेलामा ।
मेलाबाट आए म त बेलुकी साँझमा 
वरिपरि दाजुभाइ बसे माझमा ।
जति छोरा भए पनि यहीँ घरमा अटाउने 
म एउटी छोरीलाई डाँडै कटाउने ।’


यस्तो भाकामा तीजका गीत पछिल्ला समय बिरलै सुन्न पाइने उनले बताइन् । यस्तो प्रवृत्तिले तीजको मौलिकता विस्तारै हराउने उनमा चिन्ता छ । तीज मनाउने नाममा मौलिकता हराउँदै गएको उनले बताइन् । ‘जे छ चलन, त्यहीँ गर्नुपर्छ अनि यसलाई जोगाउनतिर लाग्नुपर्छ,’ उनले भनिन्, ‘यस्तै हुने हो भने त हाम्रा छोरी नातिनालाई पहिलाको जमानामा यस्तो थियो रे ! अनि यस्तो हुन्थ्यो भन्ने कहानी हुने भयो ।’ 

पोखरा महानगरपालिका २५, हेमजाकी विष्णु केसी पनि तीज आधुनिकतामा जाँदा पुरानो मौलिकता हराउँदै गएको बताउँछिन् । ‘पहिला तीजमा माइती वा मावलीघरमा गएर दर खाइन्थ्यो । जमाना धेरै फेरिएको छ,’ उनले भनिन्, ‘अहिले एक महिना अघिदेखि नै पार्टी प्यालेसमा गएर खाने चलन भयो । हाम्रो संस्कार पहिलाजस्तो छैन ।’

संस्कृतकर्मी तीर्थ श्रेष्ठ समय परिवर्तनसँगै संस्कृतिले पनि रुप परिवर्तन गर्दै जानु स्वभाविक हो भन्छन् । ‘हिजोजस्तो थियो आज हामी त्यस्तै छैनौं । हामीसँग भौतिकतावादी दृष्टिकोण पनि वृद्धि हुँदैगएको छ । हिजो सहरबजार स–साना थिए,’ उनले भने, ‘गाउँबस्तीमा मान्छेहरू बस्थे । जहाँ एकअर्कासँग मिलेर आवश्यकताहरू पूरा गर्ने, सुख बाँड्ने अनि दुख घटाउने बाटोमा लाग्थे । २ दशकयता गाउँघर शून्य छ । यसले पारेका प्रभावहरू छन् ।’ 

हिजो निश्चित स्थानमा नाचगान हुने गरेको उनले बताए । पोखराकै पनि अमरसिंहचौर र बाटुलेचौरमा भव्य मेला लाग्ने गरेको उनले सम्झिए । केही समयमा प्रतियोगीता आयोजना गरेर तीज जोगाउनु परेको उनको भनाइ छ । ‘तीज संस्कृति जोगाउन ठाउँठाउँमा प्रतियोगीताहरू हुन थाले । त्यसमा पनि एउटै समूह १० ठाउँमा भाग लिन जाने विकृति हुन थाल्यो,’ उनले भने, ‘विस्तारै प्रतियोगीता हट्दै गएपछि विभिन्न संघसंस्थाहरू भए । महिलाहरूमा पनि संगठित हुने सोच पनि पलायो । यसले तीजलाई पार्टी प्यालेस, होटलमा पुग्यो ।’ यसले तीज सबैको साझा बनेको उनले सुनाए । 

तीज मनाउनेक्रममा मर्यादा उल्लघंन हुँदै गएको संस्कृतकर्मी श्रेष्ठलाई पनि महसुस हुन्छ । उनी सुझाव दिन्छन्, ‘तीजलाई मर्यादित ढंगले सम्पूर्ण समाज मिलेर मनाउनुपर्छ । समाजमा परिवर्तन भइरहन्छन् । सधैं एउटा आँगनमा सीमित भएर मनाउनुपर्छ भन्ने पनि छैन ।’

उनी थप्छन्, ‘पार्टी प्यालेस अनि स्पिकरलाई अन्यथा लिनु हुँदैन । तर, हामीले कहिलेसम्म मनाउने ? त्यसलाई हप्ता दिन वा ३ दिनमा सीमित गर्ने कि ?’ विकृति विसंगति बाबजुत तीजले नेपाली महिलाहरूमा एकता र सद्भाव बढाउन महत्वपूर्ण योगदान दिएको उनले बताए । 

पछिल्लो समय तीजले मौलिकता बिर्सिंदै गएको गण्डकी प्रज्ञा प्रतिष्ठान कुलपति सूर्य खड्का ‘बिखर्ची’ पनि स्वीकार्छन् । सबै महिलाले नभई केहीले संस्कृति नाममा विकृति ल्याएको उनले बताए । पहिलेको जस्तो तीजका गीतमा मौलिकता भेट्न गाह्रो भएको उनको भनाइ थियो । तीज संस्कृति जोगाउन कार्यक्रम आयोजना गर्ने संघसंस्थालाई आर्थिक सहयोग गरिरहेको उनले बताए ।

‘नेपालको कुल जनसंख्याको ५१ प्रतिशत महिलाहरू छन् । महिलाहरूको चाड तीजमा उहाँहरूमा उत्साह बढोस् भनी सहयोग गरेका छौं,’ कुलपति खड्काले भने, ‘महिलाहरूका लागि मादल, बाँसुरीलगायत वाद्यवाधन सिकाउन पनि हामी तयार छौं ।’ 
 


Author

थप समाचार
x