गण्डकी

जनमोर्चाका सांसद थापा भन्छन्- ‘मुख्यमन्त्रीलाई साथ दिन्छु, सांसद पद गए जाओस्’

अनिष भट्टराई |
जेठ १९, २०७८ बुधवार ९:३३ बजे

फाइल फोटो

पोखरा : राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा आफू मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पक्षमा रहेको बताएका छन् । आफूले कुनै हालतमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गर्न नसक्ने बरु सांसद पद गुमाउन तयार रहेको उनको भनाइ छ । आफ्ना बागलुङका कार्यकर्ता कांग्रेससँग मिल्न नहुने पक्षमा उभिएकाले आफू जनताकै पक्षमा बस्ने थापाको भनाइ छ ।

‘म कुनै हालतमा कांग्रेसलाई सहयोग गर्न सक्दिनँ, म पहिलाकै अडानमा छु, मेरो साथ वर्तमान सरकारलाई नै छ,’ थापाले भनेका छन् । सांसद थापा आफू बरु गोली खान तयार रहेको तर कांग्रेससँग मिल्न तयार नभएको बताउँदै आएका छन् । 


यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षीले बहुमत दाबी गर्ने दिन सांसद थापा बागलुङ हानिएका थिए । कांग्रेस नेतृत्वको सरकार बनाउन हस्ताक्षर गर्नुपर्ने भएपछि उनी बागलुङ गएका थिए । आफूले बागलुङको ग्राउन्ड बुझेको र कांग्रेसले आफ्ना कार्यकर्तालाई दिएको दुःख सम्झेर आफू कांग्रेसलाई साथ दिने पक्षमा नरहेको उनको स्पष्ट धारणा छ । 

दलकी सचेतक आइतबार मात्रै सांसद थापालाई संसदीय दलको नेताको जिम्मेवारीबाट अपदस्त गरिएको थियो । उनको अधिकार संसदीय दलकी सचेतक पियारी थापालाई दिइएको थियो । पियारीलाई दलको नेता बनाइएपछि उनी थप रुष्ट छन् । ‘संसदीय अभ्यासमा दुनियाँमा एउटै दलको एक व्यक्ति दुई पद भएको अभ्यास संसदीय मर्यादा विपरीत छ,’ उनी भन्छन्, ‘प्रमुख सचेतक पद पनि लिएको भए तीन पद नै हजुरको हुन्थे माननीय ज्यू । कतै घुस पेठियाको षडयन्त्र नहोस् ।’ 

आफूलाई संसदीय दलको नेताबाट हटाएपछि सांसद पद पनि गुम्न सक्ने उनलाई थाहा छ । तर सांसद जनताले नै बनाएकाले जनताको पक्षमा निर्णय लिँदा सांसद पद गुम्छ भनेर आफू नडराउने उनले बताए । ‘जनताले सांसद बनाए, जनताकै पक्षमा उभिँदा पद जान्छ भने केही भएन तर म कांग्रेससँग जान सक्दिनँ,’ उनले भने । 

थापाले आफ्नो आक्रोश मंगलबारको प्रदेश सभा बैठकमा पनि पोखे । संसदीय दलको नेताबाट अपदस्त भएपछि पहिलो पटक सदन पुगेका थापाको भनाइमा कांग्रेससँगको रोष देखिन्थ्यो । आफूलाई विनाकारण कारबाही गरिए अदालत जान सक्ने समेत उनले संकेत गरे ।

‘संघीय संसद विघटन भएपछि धेरै माननीयहरु अदालत जानुभएको छ, आफ्नो हकहितका लागि जान सकिन्छ । त्यसलाई अन्यथा मान्न सकिँदैन । तर गण्डकी प्रदेशमा फेरि आफू सत्तामा पुग्न अर्को पक्षलाई हराउन निर्दलीयता अपनाउँदै हुनुहुन्छ । कृष्ण थापालाई हटाएर फेरि हामी सरकारमा पुग्छौ भनेर मिडियामा भन्नुभएको छ । यो निर्दलीयता हो,’ उनले भने । 

आफू जनताबाट निर्वाचित सांसद भएको भन्दै आफूलाई स्वीकार्न नसक्नु निर्दलीय सोचाइ भएको उनले बताए । अहिलेको घटनालाई इतिहासले मूल्यांकन गर्ने उनले बताए । संविधानले सांसदहरुको हस्ताक्षर गर्ने अधिकार दिएकोमा आफू संविधान प्रति धन्य रहेको उनको भनाइ थियो ।

‘संविधानमा हस्ताक्षरको अधिकार रहेछ, संविधानलाई म थ्यांक यु भन्न चाहन्छु,’ उनले भने । पहिलो वर्ष आफ्नो क्षेत्रमा १ किलोमिटर पनि पक्की सडक नभएको तर अहिले १५ किमि बाटो पिच भइसकेको उनले बताए । ‘गण्डकी सरकारको उपलब्धी हो यो, मेरो क्षेत्रमा अझै धेरै काम हुँदैछन्,’ उनले सुनाए । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सत्ता टिकाउने चाबी अहिले तीन सांसद भएको राष्ट्रिय जनमोर्चाको हातमा छ । ६० सदस्यीय प्रदेश सभामा एमालेसँग २८ सांसद छन् । कृष्ण थापा बाहेक विपक्षी दलहरुसँग ३१ सांसद छन् । मुख्यमन्त्री गुरुङले २८ जेठभित्र विश्वासको मत लिनुपर्नेछ । 

२९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री गुरुङले २८ गतेसम्म आफूसँग ३१ सांसदको साथ देखाउन नसकेको खण्डमा प्रदेशमा नयाँ राजनीतिक परिदृश्य देखिन थाल्नेछन् । विपक्षी मोर्चाले सरकार दिन नसके अन्ततः प्रदेश सभा पनि मध्यावधि चुनावमा जाने देखिन्छ ।


 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x