गण्डकी

गण्डकीमा नेपाल पक्षका एक्‍ला सांसद

इकागज |
जेठ २६, २०७८ बुधबार १३:२ बजे

गण्डकी : सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपाल पक्षका सांसदले नेकपा(माओवादी केन्द्र)बाट मुख्यमन्त्री भएका त्रिलोचन भट्टलाई विश्वासको मत दिएपछि गण्डकीमा सांसद इन्द्रलाल सापकोटाको चर्चा हुन थालेको छ । विपक्षी गठबन्धनलाई सापकोटाले सहयोग गर्दा अर्थात् फ्लोर क्रस गर्दा बहुमत पुग्छ । सापकोटाले भने संसदीय मूल्य र कार्यकर्ताको मनोभावनाविपरीत काम नगर्ने बताएका छन् ।

आज बिहानको संवादमा सापकोटाले भने, 'यहाँ संसदीय दल एउटै छ, दलको निर्णय नै मेरो पनि निर्णय हुन्छ, जुन जनचाहना हो ।'  उनले आफू कुनै निर्णायक नभएको भन्दै पदको लोलुपतामा नलाग्‍ने बताए ।  सापकोटाले भने, 'मलाई मुख्यमन्त्रीसँग नजिक हुनु पनि छैन र संसदीय दलको निर्णय विपरीत जानु पनि छैन ।' सापकोटाले जनताको प्रतिनिधि भएको र  कम्युनिष्ट पार्टीबाट जितेकाले सोहीअनुसारको व्यवहार आफूले गर्नुपर्ने बताए । 'म तटस्थ बस्दा वा राजीनामा दिँदा जनताको मतको के कदर होला वा मेरो राजनीतिक जीवन के होला' सापकोटाले भने, 'अन्त के गरे भन्‍ने होइन, हाम्रोमा अवस्था के छ भन्‍ने कुरालाई मूल्याङ्कन गर्ने हो ।' 


उनले वामपन्थी पृष्ठभूमिमै रहेर राजनीतिमा रहने प्रस्ट पारे । सापकोटाले विपक्षीलाई मतदान नगर्दा प्रदेशमा कसैको पनि बहुमतको सम्भावना छैन । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा केन्द्रको निर्देशनअनुसार चल्ने र सभामुखले राजीनामा दिने परिस्थिति आउनुपूर्व गण्डकी प्रदेश मध्यावधिको बाटामा लाग्‍नेछ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार संसद्‌मा विश्वासको मत लिँदै छन् । नेपालको संविधान धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्रीमा नियुक्त  गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशमा विपक्षी गठनबन्धनबाट अविश्वासको प्रस्ताव आउनुपूर्व मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएका थिए । त्यसपछि पुनः ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त  गुरुङले विश्वासको मत लिनुपूर्व विकसित राजनीतिक घटनाक्रमले अहिले गण्डकी प्रदेश चर्चामा छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले पार्टीको निर्देशन उल्लङ्घन गरेपछिको घटनाक्रम र सर्वोच्च अदालतले उहाँलाई थमौतीपछि गण्डकीको राजनीति तरङ्गित बनेको छ । ६० सदस्य रहेको गण्डकी प्रदेशमा अहिले बहुमत पुर्‍याउन ३१ सांसदको समर्थन चाहिन्छ । विश्वासको मतमा ३१ मत नभएसम्म गण्डकीको राजनीति टुङ्गोमा पुग्दैन ।

पछिल्लो घटनाक्रम र अङ्क गणितलाई हेर्दा दुवै पक्षमा बहुमत जुट्ने सम्भावना कम छ । विपक्षी गठबन्धनमा लागेका राष्ट्रिय जनमोर्चाका थापाले पार्टीको निर्णयभन्दा विपरीत पृथ्वीसुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने दोहोर्‍याउँदै आएका छन् । संसद्‌मा अहिले विपक्षी गठबन्धनमा खुलेको ३० र सरकार पक्षमा खुलेको २८ मत छ । विपक्षमा नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । रासस


Author

थप समाचार
x