गण्डकी

मन्त्री मनाङेले मुख्यमन्त्री गुरुङलाई विश्‍वासको मत नदिने : यस्तो छ गण्डकीको पछिल्‍लो अंकगणित

इकागज |
जेठ २७, २०७८ बिहीबार ७:३४ बजे

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने निश्चित देखिएको छ । आफ्नै मन्त्रीमण्डलका सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले मुख्यमन्त्री गुरुङलाई साथ दिन नसकिने बताएका छन् । मुख्यमन्त्री गुरुङले मनाङेलाई पहिलो कार्यकालमै मन्त्री बनाएका थिए । 

प्रदेश सभा विघटनतर्फ जान नदिनका लागि आफूले मुख्यमन्त्री गुरुङलाई साथ दिन नसक्ने उनको तर्क छ । प्रदेश सभालाई ५ वर्षै चलाउनका लागि विपक्षीलाई १ मत चाहिएको अवस्थामा आफूले १ मत दिने उनको दाबी छ । मुख्यमन्त्री गुरुङले मनाङेसँग वार्ता गर्न ३ सांसदलाई दूत बनाएर पठाएका थिए । मनाङका सांसद र राजीव पहारीलाई दूत बनाएर मुख्यमन्त्रीले पठाएका थिए । ती सांसदहरुसँगको वार्तामा मन्त्री मनाङेले विपक्षीलाई साथ दिने बताएका हुन् । ‘प्रदेश सभालाई विघटन हुन दिनु हुन्न, ५ वर्ष नै चलाउनुपर्छ, मेरो मत उहाँहरुलाई हो,’ मनाङेको भनाइ उदृत गर्दै सांसदले भने । 


मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले मंगलबार सदनमा विश्वासको मत लिनेबारे जानकारी गराइसकेका छन् । २९ वैशाखमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले १ महिनामा विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यताका कारण विश्वासको मत लिन लागेका हुन् । २६ वैशाखमा राजीनामा दिएपछि संविधानको १६८ (२) अनुसार सरकार गठन हुन नसकेपछि प्रदेश प्रमुखले १६८ (३) अनुसार सरकार गठन गरेकी थिइन् । ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा दोहोरिएका थिए ।

मन्त्री मनाङेले नै साथ नदिने भएपछि आज मुख्यमन्त्री गुरुङको सत्ता ढल्ने देखिन्छ । यता राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पनि तटस्थ बस्ने इकागजसँग बताए । गण्डकी प्रदेशमा ६० प्रदेश सभा सदस्य छन् । जसमा विपक्षमा नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक) र जसपाका दुई तथा राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । जसअनुसार मनाङेसहित विपक्षीको ३१ मत पुग्छ भने मुख्यमन्त्री गुरुङको पक्षमा २७ सांसदमात्र हुने देखिन्छ । बहुमत पुर्‍याउन ३१ मत चाहिन्छ । 


Author

थप समाचार
x