गण्डकी

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

इकागज |
असार ४, २०७८ शुक्रबार १०:१२ बजे

फाइल फाेटाे

पोखरा :  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । शुक्रबार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ । मुख्यमन्त्री पोखरेलले मंगलबार संसद सचिवालयमा विश्वासको मत लिने सम्बन्धी प्रस्ताव दर्ता गराएका थिए । २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई १ महिनाभित्र विश्वासको मत लिनैपर्ने बाध्यता छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेले २८ असारसम्ममा विश्वासको मत लिनैपर्ने बाध्यता भएपनि सरकारका कामकारबाही अघि बढाउन विश्वासको मत लिन लागेका हुन् । 

४ दलीय गठबन्धनमा किचलो आउन नदिन र सरकारका कारबाही अघि बढाउन विश्वासको मत लिएपछिमात्रै मन्त्रालय विस्तार गर्ने मुख्यमन्त्री पोखरेलले तयारी गरेका छन् । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरलाई नियुक्त गरेकी थिइन् । 


मुख्यमन्त्री पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, जनमोर्चा र जनता समाजवादीका २/२ र १ स्वतन्त्र सांसदको साथ छ । पोखरेललाई विश्वासको मत प्राप्त गर्न ३० सांसदको साथ चाहिन्छ । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्च अदालतले सांसद पद नरहने गरी कारबाही गरेपछि सांसद कायम संख्या ५९ छ ।

मन्त्रालय विस्तार र नियुक्त मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी नतोक्दा सरकारको कारबाही अघि बढाउन समस्या आएको छ । विश्वासको मत अघि नै मन्त्रालय विस्तार र मन्त्रालय भागभण्डा गरे गठबन्धनमा किचलो आउन सक्ने डरले मुख्यमन्त्रीले त्यसो गर्न सकेका छैनन् । शनिबार ४ जनालाई मन्त्री बनाएर सपथ लिएका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिएपछि मन्त्रालय विस्तार गर्ने र मन्त्रालयको जिम्मा तोक्ने तयारी गरेका छन् ।

शनिबार मुख्यमन्त्री पोखरेलसँगै कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य, र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका थिए । अहिले यी ४ जना नै विनाविभागीय हुन् ।

मुख्यमन्त्री नियुक्त भएको तेस्रो दिनमै पोखरेल सरकारले बजेट ल्याएको थियो । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जम्बो गठबन्धन सहित मुख्यमन्त्री बनेका पोखरेललाई गठबन्धनलाई एक ढिक्का बनाएर राख्नुपर्ने चुनौती छ । नेकपामा आएको फुटझैं गठबन्धनमा पनि फुट सिर्जना हुनसक्ने संशय मुख्यमन्त्री पोखरेलमा छ । निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको गठबन्धन लामो समय नजाने र फुट सिर्जना हुने आँकलन गरिसकेका छन् ।

निवर्तमान मुख्यमन्त्री गुरुङले भनेझैं गठबन्धनमा किचलो आएको स्पष्ट देखिन्छ । जनता समाजवादी पार्टीकी सांसद धनमाया लामा पोखरेलले आफू सरकारलाई साथ दिन नसक्ने सार्वजनिक अभिव्यक्ति दिएकी छन् । आफूहरुको गठबन्धनमा सरकारमा जाने बेला २ जना नै सांसद जानुपर्ने सहमति गरिएपनि १ सांसदमात्र मन्त्री भएपछि लामा रुष्ट छिन् ।

आफूलाई पनि १ मन्त्रालय दिएर सरकारमा लैजानुपर्ने उनको माग छ । ‘हाम्रो सहमति २ मन्त्रालय, थ्रेसहोल्डको खारेज र उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइनुपर्छ भन्ने थियो, सहमतिमा नचलिएकाले साथ दिन सकिन्नँ,’ उनले भनिन् । तत्कालिन नेपाल कम्युनिस्ट पार्टीमा फुट आएपछि मुख्यमन्त्रीमा पोखरेलको दाउ लागेको थियो । 


Author

थप समाचार
x